मनाङ – मनाङमा आसन्न स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत मतदान केन्द्रमा खटिन थालेका छन् ।


ADVERTISEMENT


मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याडलगायतका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन् ।


ADVERTISEMENT

# # #


यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन सामग्री सहितका कर्मचारी मतदान केन्द्रतर्फ पठाउन थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

जिल्लाको चारवटै पालिकामा निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका २८ मतदानस्थलका २८ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी टाढा रहेका मतदान केन्द्रतर्फ उनीहरुलाई पठाउन थालिएको छ ।

“टाढा मतदानस्थल रहेका मतदान अधिकृत र सहायक मतदान अधिृकतलाई आजै पठाउने तयारी गरेका छौँ, उहाँहरुलाई सामग्रीसहित पठाउने तयारी भइरहेको छ”, उनले भने, “नार्पाभूमि क्षेत्रमा आजै पठाउने तयारी गरिएको छ । अन्यत्र भने भोलि र पर्सीभित्र मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पठाउने छौँ । मतदान केन्द्रका लागि सामग्री पनि तयारी अवस्थामा राखेका छौँ ।”

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए । आचारसंहितामा बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै उनले भने, “निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे। “मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिदैन”, उनले भने, “ढुक्क भएर निष्पक्ष रुपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिन अनुरोध गर्दछु ।” मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ आचार्यले बताए ।

प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले हरेक मतदान केन्द्रमा प्रहरी परिचालित हुने भएकाले ढुक्क हुन आग्रह गरे । निर्वाचनमा कुनै शङ्कास्पद गतिविधि भएको पाइए तत्कालै प्रहरीलाई खबर गर्न अनुरोध गरे । “हरेक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको छ, सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ”, उनले भने ।

तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको निर्वाचन कार्यालयका प्रमुख शर्माले बताए । मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको थियो । रासस