काठमाडौं – उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र आज फोहोर व्यवस्थापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ।


ADVERTISEMENT


आज साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताइन्। यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहरलाई व्यवस्थापन गरिँदै आएको थियो।


ADVERTISEMENT

# # #


हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ। हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल लैजाने गरिन्छ।

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि १४ दिनपछि शनिबारदेखि फोहर व्यवस्थापनको काम सुरु भए पनि स्थानको अभावका कारण अहिले फेरि समस्या आएको हो।

स्थानीयवासीसँगको छलफलमा सहमति नजुटेपछि कामपाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिबारदेखि भएको थियो। पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहर सडकमा नै थियो। नागरिक दैनिकबाट ।