बाग्लुङ – स्थानिय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनैतिक दल र उम्मेदवारहरु मतदाता सँग भोट माग्ने रस्साकसीमा दौडधुप गरिरहेका छन् । गाउँ देखि शहर बजार जताततै चुनावी माहोल तातेको छ । वाम लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरु आफनो पक्षमा चुनावी माहोल सिर्जना गर्न यतिबेला तल्लिन छन् ।


ADVERTISEMENT


उम्मेदवारहरु मतदाताको घरआँगन, खेतबारी, बाटोघाटो र खरबारीमा भोट माग्न लावा लस्कर सहित पुगिरहेका छन् । जनताले आफना गुनासा सुझाव सल्लाह र बितेको ५ वर्षको समिक्षा पनि उम्मेदवार सँग गरिरहेका छन । चुनावी माहोलले सबैलाई छोएको छ चोक चोकमा अहिले स्थानिय तहको निर्वाचनकै विषयमा चियागफ हुने गरेको छ । यो चुनावमा कसले बाजी मार्छ भन्ने विषयमा अडकलबाजी समेत हुन थालेको छ ।


ADVERTISEMENT

# # #


आज राती १२ बजे देखि मौन अवधि सुरु हुँदै छ । चुनावी प्रचार प्रसारको अन्तिम दिन उम्मेदवार र राजनैतिक दलहरु आ–आफनो सक्रियतालाई तदारुकताका साथ अगाडी बढाएको बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनले गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संविधान सभाका पुर्व सदस्य नर वहादुर पुन (निरज) ले नेपालको संविधान २०७२ लाई रक्षा गर्नका लागि आसन्न स्थानीय निर्वाचनमा अहिलेको ५ दलिय गठवन्धनलाई मतदान गरी विजयी गराउनुपर्ने बताए ।

उनले तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता, अहंकारी प्रवृत्तिको अन्त्य गर्नका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताए ।

पुनले निवर्तमान गलकोट नगरको नेतृत्वले विकास निर्माणका धेरै कार्यक्रमको सुरुवात गरेको हुँदा त्यसलाई एउटा उचाईमा पुर्‍याउँदै विकसित र समृद्व गलकोट निर्माण गर्न गठबन्धनलाई विजयी गराउनु अहिलेको आवश्यकता रहेको भन्दै मतदाताहरुले कुनै पनि व्यक्तिको लहैलहैमा नलागी गठवन्धनका आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।

सो अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार भरत शर्मा गैरेले आफु नेतृत्वको पहिलो नगरपालिकाको टिमले गलकोट नगरको मुहार फेर्न थुप्रै कामको सुरुवात गरेको र बाँकी रहेका कामलाई पुरा गरि नमुना नगरपालिका निर्माण गर्न मतदान गर्न अपिल गरे ।

त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख पदका उम्मेदवार फमलाल निउरेले देश अहिले अफ्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको हुँदा यो गठबन्धन निर्माण भएको बताए । निउरेले प्रतिगमनका विरुद्व मिलेर बनेको गठबन्धनको मर्म, भावना र उद्देश्य अनुरुप गलकोट नगरलाई समानुपातिक रुपमा विकास गरि समृद्ध गलकोट निर्माण गरिने उल्लेख गरे ।

सो अवसरमा नेपाली काँग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष उमेश गौतम, वाम लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार समितिका सचिव टंक केसी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गलकोट नगर सदस्य छम काउचा लगायतले मतादाताहरुलाई गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

कार्यक्रम नेपाली काँग्रेस गलकोट नगरपालिका १० का कार्य वहाक सभापती दिप घर्तीको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो । गठबन्धनले पाण्डवखानी रमुवामा पनि चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।