काठमाडौं – कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ।


ADVERTISEMENT


महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा एमालेका उम्मेदवार किशोर लिम्बुले २३९ मत प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


त्यसैगरी, बेल्डाडी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका छन् भने उनीहरूलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन्।

बेल्डाडीमा अध्यक्षमा कांग्रेसका रानाले १९१ मत पाएका छन् भने उपाध्यक्षमा कांग्रेसकै नाथले २७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी, सो पालिकामा एमालेका अध्यक्षका उम्मेदवार अक्कलबहादुर विष्टले ११६ र उपाध्यक्षमा फुलकुमारी रानाले २२३ मत प्राप्त गरेका छन् । त्यसैगरी, बेलौरी नगरमा नेकपा माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार पोतिलाल चौधरीले अग्रता लिएका छन्।

बेलौरीमा एक हजार ३८३ मतगणना हुँदा माओवादीका चौधरीले ५२० मतसहित अग्रता लिएका छन्। सो पालिकामा एमालेका नगरप्रमुखका उम्मेदवार कमला बोहराले ४२४ मत ल्याएका छन् भने कांग्रेसबाट नगरप्रमखुका उम्मेदवार बनेका होसियार विष्टले ३४० मत प्राप्त गरेका छन्।

उता, लालझाडी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बनेका श्रीकृष्ण रानाले अग्रता लिएका छन्। यहाँ वडा नं ६ मा वडाध्यक्षसहित प्यानल कांग्रेसको विजयी भइसकेको छ।

हालसम्मको गणनाअनुसार कांग्रेसका श्रीकृष्णले ६०१ मत, एमालेका अध्यक्षका उम्मेदवार निर्मल रानाले ५५२ मत र माओवादीका अध्यक्षका उम्मेदवार मदन सेन बडायकले ४४३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, भीमदत्त नगरमा पनि कांग्रेसका उम्मेदवार पदम बोगटीले नगर प्रमुख पदमा सुरुआती अग्रता लिएका छन्। यहाँ एक सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार बोगटीले ५३ र एमालेका नगरप्रमुखका उम्मेदवार महेश पन्तले १४ मत प्राप्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेयले १५ मत प्राप्त गरेका छन्। यहाँको वेदकोट र शुक्लाफाँटा नगरमासमेत गणना सुरु भएको छ भने अन्य पालिकामा पनि शनिबार दिउँसोदेखि गणनाको तयारी गरिएको छ।