• गोविन्द ज्ञवाली

देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा सर्वाधिक चासो र चर्चा काठमाडौँ महानगरको प्रारम्भिक मतपरिणामलाई लिएर भइरहेको छ । त्यसमा पनि चर्चाको केन्द्रमा छन् स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन) ।


ADVERTISEMENT


पाँच दलीय गठबन्धनको साझा उम्मेदवार र पहिलेदेखि नै बलियो मानिने नेकपा एमालेका उम्मेदवारमाथि सुरुवातदेखि नै अग्रता कायम गरेका वालेनले पाएको मतलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । तर, हामीले के बुझ्न जरुरी छ भने कुनै पनि नतिजालाई भर्खरै भएको घटनाले मात्र नभई त्यसको पृष्ठभूमिले समेत प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । यसका लागि हामीले पृष्ठभूमिको विश्लेषण गर्नुपर्ने हुन्छ । जस्तो: अहिले राजनीतिक दलले जनताको आशा पूरा गर्न नसकेका कारण हाल स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेको भन्ने गरिएको छ । जुन केहि हदसम्म साँचो पनि हो ।


ADVERTISEMENT

# # #


अझै यसलाई विस्तृत रुपमा बुझ्नपर्दा, राजनीतिक दलहरु जनताको आवश्यकता भन्दा पर बसिदिए । जनताको दैनिक आवश्यकता एकातर्फ, दलहरु त्यसबाट पर रहेर राजनीतिको ठूला – ठूला कुराहरु मात्रै गरे । अहिलेको मतगणनाको पृष्ठभूमि हेर्ने हो भने पनि हामीले के देख्न सक्छौं भने कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले ‘हामी राजनीतिक दल भएको कारणले हामी मात्रै श्रेष्ठ हौं, हामी मात्रै प्रमुख र आम व्यक्ति कोही होइनन्’ जस्तो व्यवहारले जनमतलाई कम आँके ।

अर्को कुरा, प्रमुख दलले नातावादका आधारमा उम्मेदवारहरुलाई अघि सारेको देखियो । यस्तै दलका केही उम्मेदवारमा पनि ‘मैले नै यति धेरै भोटले जित्छु, छाप लगाउन मात्रै बाँकी हो । म नै सर्वेसर्वा हुँ’, भन्ने किसिमका अभिव्यक्तिहरु आए । र, आम जनताका दैनिक समस्या, ब्यवहारिक कठिनाई लगायतका एजेन्डाहरुमा कुनै राजनीतिक दलहरुले मुख खोलेनन् । मात्रै, एक अर्कालाई दोषारोपण गरिरहे । यस्ता कुराले दल र जनताबीचको दुरी अझै बढाउँदै लग्यो । जनतामा दलहरु प्रतिको नैराश्यता चुलिँदै गयो ।

यसर्थ एक त, आफूहरुको आवश्यकताभन्दा पर रहेर कुरा गर्ने र अर्काेतर्फ आफ्नो कुरा जनतामाथि लाद्ने प्रवृत्तिविरुद्वको जवाफ नै जनताको स्वतन्त्र उम्मेदवारप्रतिको उदारता हो । यसैकारण पनि स्वतन्त्र उम्मेदवार वालेन साहले अग्रता कायम गरेका हुन् ।

मिचाहा प्रवृत्तिविरुद्धको मुक्का

बालेन साह पनि युवाहरुको भोट ‘क्याल्कुलेशन’ गरेर ‘मैले यति मत प्राप्त गर्छु’ भनेर हिडेकै हुन् । उनले काठमाडौंको जनसंख्याका  आधारमा ‘क्याल्कुलेशन’ गरेर आफ्नो प्रक्षेपण बनाएकै हुन् ।

तर, उनको ‘केश’मा के फरक छ भने, त्यहाँ उनले आफ्नो मतको मात्रै नभई काठमाडौंभित्र कतिवटा सामुदायिक विद्यालय छन् ? हामीसंग कतिवटा सम्पदा छ ? त्यसलाई कसरी मर्मत गर्नुपर्छ ? त्यसका लागि कस्तो जनशक्ति आवश्यक पर्छ ? आवश्यक स्रोत साधन कहाँबाट जुट्न सक्छ ? काठमाडौँको ट्राफिक व्यवस्थापन कसरी गर्न सकिन्छ ? र, जनताले सहजै प्राप्त गर्न पाउने अधिकार हुदाँहुदै पनि जन्म/मृत्यु तथा नागरिकता प्राप्त गर्ने दर्ता प्रकृयाहरुमा दुःख पाइरहेको लगायतका साधारण मानिने स–साना पक्षहरुको समेत विशेष अध्ययन गरेर आएको देखिन्छ ।

एक हिसाबले उनले काठमाडौंको वास्तविक समस्या पनि खोतले, जुन विषयहरु यसअघि कुनै पनि राजनीतिक दलहरुको उम्मेदवारका  अन्तर्वार्तामा जनताले कहिल्यै सुन्न पाएका थिएनन् ।

राजनीतिक दलहरुले यतिका वर्ष केही गर्दै नआउनुको सट्टा आशा तथा विश्वास लिएर उठेका एउटा युवा स्वतन्त्र उम्मेदवारलाई नै किन नचुन्ने ? भन्ने वैचारिक भावले नै जनताले साहप्रति आकर्षित भएका हुन् । यद्यपि नतिजा के हुन्छ र कसको पक्षमा हुन्छ ? अहिले नै भन्न कठिन हुन्छ । तर, यसलाई दशकौँदेखि राजनीतिक दलहरुको मिचाहा प्रवृत्तिविरुद्धको मुक्का मान्न सकिन्छ ।

काठमाडौंमा यसअघिका उम्मेदवारले महत्वाकांक्षी घोषणापत्र ल्याएका थिए । जनताले त्यसैलाई पत्याएर नेतृत्वमा पठाएका व्यक्तिबाट नै धोका पाए । संगै,  दल र नेताहरुले आफूले गरेको कमजोरी स्वीकार्न सकेको पनि पाइएन । यसकारण पनि हालको सन्दर्भमा जनताले उम्मेदवारको बोलीभन्दा योग्यता हेर्न थाले । जस्तो : एक इन्जिनियरसंगै बालेनसंग नेपालको ६५ जिल्ला घुमेर भुकम्प प्रतिरोधात्मक क्षेत्रमा काम गरेका अनुभवहरु छन् ।  जसकारण पनि धेरै जनताले उनीमाथि विश्वास गरेका हुन् ।

यसबाहेक उनको अर्काे बलियो पक्ष भनेको स्वतन्त्रमार्फत उम्मेदवारी दिएका उनी आफैँमा सक्षम अनि आफैँमा निर्णय गर्ने क्षमता भएको र उनलाई दलहरुको जस्तो कुनै पनि कार्यका लागि कसैको आदेशको खाँचो नभएकै कारण पनि जनताले उनलाई यसपटक पत्याउने छाँट देखाएका हुन् ।

कतिपय मतदाताले पूरानै दलका उम्मेदवारलाई मत हालेका छन् । यो पक्ष भनेको व्यक्तिको पुरातनवादी सोचसंग जोडिएको छ । अर्थात्, उनीहरुले राजनीतिलाई संस्कृतिको रुपमा ग्रहण गरेका छन् । जस्तो जसरी हामी एकै किसिमको संस्कृति दोहोर्याइरहन रुचाउँछौँ, त्यसरी नै केही व्यक्तिहरु सोही पार्टी वा दल नै नेतृत्वमा आउनुपर्छ, भन्ने धारणाले निर्देशित भएको पाइन्छ । जसकारण पनि उनीहरुले सोही प्रवृत्तिलाई नै निरन्तरता दिए । तर, यसबीचमा उनीहरुले त्यो संस्कार कत्तिको आवश्यक छ ? त्यसले आफुलाई कत्तिको फाइदा पुर्याएको छ ? भन्ने कुराको ख्याल समेत गरेको देखिंदैन । यद्यपि त्यस किसिमको प्रचलन तोड्नका लागि अर्काे कोही न कोही पात्र चाहिन्छ । हालको सन्दर्भमा सो काम अहिलेको नयाँ पुस्ताले गर्दैछ । र, परिवर्तनको संकेत देखिएपछि पुरातन प्रवृत्ति विस्तारै तोडिन्छ ।

राजनीतिप्रति युवा आकर्षण 

वालेनको उम्मेदवारी घोषणादेखि हालसम्म आइपुग्दा नेपालमा राजनीतिप्रति युवापुस्ताको चासो बढ्दै गएको पाइन्छ । जब हामीलाई पहिलेदेखि नै थाहा भइराखेको वा देखिराखेको विषय परिवर्तन हुन्छन्, तब ‘यस्तो पनि सम्भव हुदो रहेछ’ भनेर हाम्रो ध्यानाकर्षण हुन्छ । अथवा ‘यसमा पनि परिवर्तन सम्भव छ है’, भनेर जब हामीलाई कसैले महशुस गराउँछ, हामीलाई सो कुरा चित्त बुझ्न थाल्छ र त्यसप्रति हामी चासो दिन थाल्छौ । वालेन र युवा समर्थकबीचको आत्मियता नै यही हो ।

यसअघि भ्रष्टाचारका कारण दिनहुँ जनताले भोग्नुपर्ने दुःखहरुको मुख्य जड राजनीति नै रहेछ भन्ने तथ्य जब आम जनताले थाहा पाए । अझ त्यसमाथि पनि मुख्य चाबी जनताको समस्यालाई नबुझ्ने र गम्भीरतापूर्वक नलिने दलको हात छ भन्ने कुरा ज्ञात भयो, तत्पश्चात् उनीहरुमा राजनीतिप्रति वितृष्णा पैदा हुन थाल्यो ।

लामो समयदेखि पाको उमेरकाले शासन गर्दै आएको नेतृत्व सम्हाल्न वालेन साह आउने सम्भावना बढ्यो, उनले युवा मात्रै नभई धेरैको ध्यान खिचे । दिनहुँ भोग्ने ट्राफिक जामदेखि रोजगारसम्मको तनावलाई उनले ‘हाईलाईट’ गर्दिए । तसर्थ आफ्नो समस्याको ‘कनेक्शन’ साहले उठान गरेका एजेन्डामा पाएकाले पनि युवाहरु उनको समर्थनमा उठेका हुन् । आफुजस्तै समस्या भोगका व्यक्तिले आफ्नो समस्या बुझेका छन् र त्यसलाई सम्बोधन पनि गर्छन् भन्ने आश युवा पिँढीले देखेका छन् ।

अर्काे पक्ष भनेको वालेनले पूरा गर्नै नसकिने र सम्भव नै नभएका एजेन्डाहरु आफ्नो घोषणपत्रमा उल्लेख गरेका छैनन् । बरु उनले सानाभन्दा अति साना लाग्ने भएपनि दैनिक रुपमा जनतालाई असहज गराइराखेका समस्याहरुको व्यवस्थापन गर्ने घोषणा गरेका छन् । त्यसैले पनि उनलाई पत्याउनेको जमातमा युवासंगै अन्य समूहहरु पनि छन् ।

भारतको दिल्लीमा आमआद्मी पार्टीको अरविन्द केजरीवालजस्तो शिक्षित व्यक्तिले नेतृत्व गरेको सरकारकै कारण त्यहाँका जनतालाई कतिको सहज भएको छ भनेर पनि आजका युवाले बुझेका छन् भने संगै ३० वर्षभन्दा बढीदेखि नातावाद तथा पार्टीवादकै कारण नेतृत्व सम्हाल्न पाएका नेताहरुबाट वाक्क भएका कारण पनि उनीहरुले राजनीतिमा नयाँ परिवर्तन खोजेका हुन् । यसैकारण पनि जनता र वालेनबीचको सम्बन्ध अविश्वसनीय रुपमा मजबुत हुँदै गएको हो ।

दलमाथि स्वतन्त्रको चुनौती

चुनाव जित्नु र चुनाव जितेपछि काम गर्नु दुई अलग कुरा हुन् । अर्थात्, यदि स्वतन्त्र उम्मेदवारले चुनाव जितेर भोलिका दिनमा आफुले प्रतिबद्वता गरेजस्तै उचित रुपमा कार्य सम्पादन गरेको खण्डमा अवश्य पनि स्वतन्त्र उम्मेदवार अर्काे चुनावमा पनि यथास्थितिमै टिकिरहने सम्भावना उच्च रहन्छ ।

तर, यो भन्दै गर्दा, यदि अहिलेका पार्टीहरुको जुन आपसी ‘नेटवर्क’को संरचना छ, अबका दिनमा नातावाद र कृपावादबाट अलग रहेर दक्षता एवम् योग्यताको आधारमा कामगर्न सक्ने उम्मेदवारहरुलाई चुनेर सोहिअनुसार, कार्यहरु सम्पादन गर्दै गएमा भोट पार्टीकै ‘फेभर’मा जान्छ । त्यसमा कुनै दुईमत रहदैँन । अन्यथा भोलिका दिनमा स्वतन्त्र उम्मेदवारहरु बिरुद्ध गठबन्धन नै गर्नुपर्ने बाध्यात्मक ठाउँमा दलहरु पुग्नुपर्ने स्थिती आउन सक्छ ।

जितेको खण्डमा काठमाडौंले खोजेको काम गर्नैपर्ने दबाब वालेनमाथि रहने छ । उनी सिधै जनताको अपेक्षासँग जोडिएका छन्, काम नगर्दा पनि अन्धभक्त भएर साथ दिने दलीय सँरक्षण उनीसँग हुनेछैन ।

चाणक्यले भने झैं, यदि हामी राजनीतिलाई बेवास्ता गरेर बसिरहने हो भने गलत ब्यक्तिबाट शासित हुन पनि तयार हुनुपर्छ । अहिलेको जनमत यही चेतनाको अभिब्यक्ति हो ।

(अमेरिकन बोर्ड अफ न्यूरो लिङ्ग्युष्टिक प्रोग्रामिङ  (एबी एनएलपी) का प्रशिक्षक ज्ञवालीसँग गरिएको कुराकानीमा आधारित)