तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।


ADVERTISEMENT


गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएका हुन् । अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ ।


ADVERTISEMENT

# # #


अध्यक्षमा विजयी थापाले तीन हजार २२९ मत प्राप्त गरे । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गरे । उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरिन् । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् ।

छवटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली कांग्रेसले एक वडा जितेको छ । एमालेले वडा नं १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ तथा कांग्रेसले ३ नं वडा जितेको छ । कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो ।

ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ तीन हजार ३३५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गरे । नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत प्राप्त गरे ।

उपाध्यक्षमा गिनुमाया थापा चार हजार ४२९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुसिं थापाले तीन हजार ४८९ मत प्राप्त गरे । विजयी थापा पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । १८ हजार ८३८ मतदाता रहेको गाउँपालिकामा १० हजार ६७७ मत खसेको थियो ।

आठ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले पाँच, स्वतन्त्र उम्मेदवारले दुई र नेकपा माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ ।