काठमाडौँ– बलात्कार तथा यौन शोषणसम्बन्धि नेपालको कानुनी व्यवस्थामा उल्लेखित हदम्याद खारेजीको विषय उठ्दै गर्दा सामाजिक सञ्जालमा अर्की युवतीले पनि ७ वर्षअघि आफुमाथि भएको घटनाबारे बोलेकी छन् ।


ADVERTISEMENT


 उनले इन्स्टाग्राममार्फत आफु पढ्ने स्कुलको प्रध्यानाध्यापकबाटै आफु बलात्कृत भएको दाबी गरेकी छन् । कक्षा ९ बाट शुरु भएको उनीमाथिको यौनशोषण २ वर्षसम्म निरन्तर भएको उनको भनाई छ । यसअघि राखिएको आफ्नो पोष्ट हटाएको बताउँदै उनले आफ्नो घटनाको वृत्तान्त यसरी सुनाएकी छन्  :


ADVERTISEMENT

# # #


७ वर्षअघिको घटना भएकोले बाहिर निकाल्ने हिम्मत थिएन तर अहिले पछिल्लो पटक सामाजिक सञ्जालमा भाइरल केशका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।

घटना वर्ष : २०७२/७३ को आसपासको हो।

म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई त्यहाँको तत्कालीन प्रिन्सिपलले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो  (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु) । त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो ।

प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सिधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराईरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई ‘यता आउ यहाँ गर्मी हुदैन’ भन्दै कोठा तिर जान भन्यो। त्यतिबेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्‍यो।

उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो। यो क्रम मेरो एसएलसी नसकुञ्जेल २ बर्ष सम्म जारी रह्यो। बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्‍यो ।

उसले मलाई बिदामा पनि घर जान दिएन । ‘घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने’ भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चै ‘छोरी राम्रो पढ्दै छ र उसको लागि घर नजानु नै राम्रो हो’ भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यहि भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थ्यो ।

मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधै होस्टेलमै हुन दिनु, मेरो आमा स्कूलबाट ५ मिनेट टाढा बस्नु हुन्थ्यो र पनि मलाई प्रिन्सिपलसंग अस्प्ताल जान भनियो ।  यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन ? तर यो मेरो जीवनको वास्तविक कथा हो।

मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन्। म बाल्यकालदेखि नै हँकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ। मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने (उसको त्यतिबेला श्रीमती र एक छोरा थिए), तर उनले पनि मेरो लागि बोलीन। मैले स्कुलमा ३ पटक (२ वर्ष भित्र) आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो।

एसएलसी सकेपछि परिवारलाइ यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ, त्यो बलात्कारी फरार भयो र मेरो मुद्दा अझै चलिरहेको छ, उनीहरू भन्छन्। जब म फलोअप गर्थें, प्रहरीले कहिले बलात्कारीलाई खोज्दैछौ भन्छ। ७ बर्ष भैसक्यो तर बलात्कारी कहाँ छ ???अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडें, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।

त्यो बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु । न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दैछु ।

सौन्दर्य प्रतियोगिताका क्रममा आफुमाथि ८ वर्षअघि भएको बलात्कार र यौन शोषणको कुरा निकाल्दै पछिल्लो पटक एक युवतीको पक्षमा जनलहर नै उर्लिएपछि धमाधम एकपछि अर्काे यौन शोषण र दुर्व्यवहारका घटनाहरुले अहिले सामाजिक सञ्जाल भरिभराउ छ । तीमध्ये कतिले आफ्नो परिचय खुलाएका छन्, भने कतिले आफ्नो परिचय गोप्य नै राखेका छन् । यद्यपि तीमध्ये अधिकांशले भोगेका घटनाले १ वर्षअवधि पार गरिसकेको देखिन्छ ।

आफुमाथि यौन दुर्व्यवहार भएको थाहा नै नहुने र थाहा भएपनि त्यसको विरुद्व बोल्न नसक्ने उमेरमै आफुहरुमाथि सो किसिमको हर्कत भएको बताउने पिडितहरु भन्छन्, ‘त्यसबेला त आफुलाई यौनदुर्व्यवहार भएको नै थाहा थिएन । अनि त्यसको विरुद्व बोल्ने पारिवारिक सपोर्ट पनि पाइएन । उल्टै परिवारले इज्जतकै डरका कारण गुपचुप राखे । तर, अहिले बोल्नुपर्छ भन्ने महशुस भएको अनि आँट पनि आएको छ । तर, के गर्ने एक वर्षभन्दा बढि कटेको यौन दुर्व्यवहारको केश दर्ता नै नहुने रहेछ ।’ ‘कानुनले दिएको अवधिभित्रै उजुरी नदिए के त्यो यौनशोषण शोषण हुदैँन ? के अवधि लम्बिदैँ जाँदा अपराधीको अपराध कम हुदैँ जाने हो सरकार ?’ उनीहरुको प्रश्न छ ।

यसबाहेक सामाजिक सञ्जालमा यसरी एकपछि अर्काे घटना सार्वजनिक भइरहँदा आफुलाई पिडित बताउने कतिपयले पीडकको नाम र फोटो समेत खुलेआम सार्वजनिक गरेको देखिन्छ । तसर्थ तीमध्ये कति घटनाहरु सत्य हुन् र कति घटनाहरु व्यक्तिगत रिसिबीकै कारण बदलाको भावले नियोजित रुपमा रचिएका हुन् त्यसबारे भने प्रहरी अनुसन्धान आवश्यक देखिएको छ ।