काठमाडौं – बडादसैंको समापनसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको ऐतिहासिक नवदुर्गा मन्दिरमा पूजाअर्चना गरी परम्परागत धार्मिक तथा सांस्कृतिक अभ्यासलाई निरन्तरता दिएका छन् ।
कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार प्रथम महिला सविता पौडेलसहित भक्तपुर पुगेका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गरेका हुन्। उनले ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा प्रसादसमेत ग्रहण गरेका हुन्।
भक्तपुरमा कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुख नवदुर्गा मन्दिर पुगेर पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। सोही परम्पराअनुसार मन्दिर पुगेका राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षा अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले स्वागत गरेका थिए।
पूजाअर्चनाका क्रममा राष्ट्रपति पौडेलले ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीलगायत नवदुर्गा देवगणका मूर्तिहरूको दर्शन गरेका हुन्। उनले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणहरूलाई परम्पराअनुसार दक्षिणासमेत प्रदान गरे।
यस अवसरमा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाच तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। धार्मिक आस्था, ऐतिहासिक सम्पदा र नेवारी संस्कृतिसँग जोडिएको नवदुर्गा मन्दिरमा राष्ट्रपतिको उपस्थितिले कोजाग्रत पूर्णिमाको परम्परागत महत्त्वलाई थप उजागर गरेको छ।



























