नवलपरासी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आफ्नो निजी निवास महेशपुरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले फरक राजनीतिक विचार र आस्था भए पनि चाडपर्वले सबैलाई एकताको सूत्रमा बाँध्ने बताएका थिए। उनीहरूले सामाजिक सद्भाव, भाइचारा, आपसी सहकार्य र लोकतान्त्रिक संस्कारलाई बलियो बनाउन यस्ता कार्यक्रमले सहयोग पुर्याउने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशचन्द्र यादव, पूर्वमन्त्री देवकरण कलवार (सन्तु), लुम्बिनी प्रदेशसभा सदस्यद्वय बैजनाथ जैसवाल र विश्वप्रेम पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि पाण्डेय, कांग्रेसका कार्यवाहक सभापति विक्रम यादव, नेकपा एमालेका अध्यक्ष दीपेन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीका अध्यक्ष रामभवन यादव तथा लोकतान्त्रिक समाजवादी पार्टीका मुकुर्जी गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
त्यसैगरी बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय र पाल्हीनन्दन गाउँपालिकाका कार्यवाहक अध्यक्ष किसान यादवले पनि पर्वको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्रहरी उपरीक्षक रामबहादुर केसीलगायतको उपस्थिति थियो। महाधिवेशन प्रतिनिधि मन्जु कण्डेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महाधिवेशन प्रतिनिधि देवराज भण्डारीले गरेका थिए।
कार्यक्रमको अन्त्यमा पूर्वगृहराज्यमन्त्री कण्डेलले निमन्त्रणा स्वीकार गरी सहभागी भएका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै विजयादशमी, दीपावली र छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगति ल्याओस् भन्ने शुभकामना दिएका थिए।
कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीका अनुसार महेशपुरस्थित निजी निवासमा आयोजित उक्त कार्यक्रम चाडपर्वको शुभकामना आदान–प्रदानसँगै विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिबीच भेटघाट र सद्भाव अभिवृद्धि गर्ने अवसर बनेको थियो।



























