काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराए ।
सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिएकी थिए । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए ।
शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी भएका थिए ।
समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
महानगरपालिकाका प्रमुख साह र उपप्रमुख डंगोलले आजै पदबहाली गरेका छन् ।
सबै तस्बिर : रासस