काठमाडौं – मिस नेपाल वर्ल्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् ।


ADVERTISEMENT


अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै मिस नेपाल प्रियंकाले अबको मिस वल्र्डमा नेपाललाई चिनाउँदै उपाधि चुम्नु नै आफ्नो पहिलो लक्ष्य रहने बताएकी छन् । बिगत दुई वर्ष कोभिडका कारण भौतिक दूरी कायम गर्दै मिस नेपाल वल्र्डको चयन गरिएको थियो । यसपटक कोरोनाको कहर कम भएपछि मिस नेपालको चयन विशेष कार्यक्रमबीच गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा मिस नेपाल अर्थ २०२२ को उपाधि सरिशा श्रेष्ठले हासिल गरिन् । यस्तै, मिस नेपाल इन्टरनेसनल २०२२ को उपाधि न्यान्सी खड्काले प्राप्त गरिन् । विगतमा काठमाडौंमा आयोजना हुँदै आएको मिस नेपालको ग्रान्ड फिनाले कार्यक्रम यसपटक ललितपुरको गोदावरीस्थित ठूलो हलमा आयोजना गर्दा हल भर्न आयोजक पक्षलाई हम्मेहम्मे परेको थियो । कार्यक्रम हेर्नका लागि प्रवेश टिकट ५ हजारसम्म राखिएकोमा कार्यक्रमस्थल टाढा भएकै कारण सुरुमा टिकट बिक्री भएन । त्यसपछि आयोजक संस्था हिडन ट्रेजरले टिकटको मूल्य २५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा झार्नुपरेको थियो । तथापि, आशातीत दर्शक भएनन् । विभिन्न क्षेत्रका ११ जना निर्णायक रहेको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा अन्य ९ वटा सवटाइटलको पनि विजेता घोषणा गरियो ।