काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले खेल र खेलाडीको क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुदलाई सिंहदरबारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउनका लागि सबैको ध्यान केन्द्रीत हुनुपर्ने जिकिर गरे । खेलकुदमा फुटबल तर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने उनले बताए । मन्त्री गहतराजले नेपाली फुटबललाई बलियो बनाउनका लागि साहस पैदा गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियामा फुटबलको स्थितिलाई बलियो बनाउन एन्फाले ध्यान केन्द्रीत गर्नुपर्ने बताए । एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रलाई बलियो बनाउनका लागि एन्फाले धेरै नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिए । उनले खेलाडीको अभिवृद्धि गर्नका लागि पनि धेरै काम गरिएको दाबी गरे ।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोइरालाले खेलकुदको शिर उच्च बनाउनका लागि राखेप सधै प्रयास गर्ने धारणा राखे ।

एन्फाको आगामी चार वर्षको कार्यकालका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।