काठमाडौँ – पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुन निर्वाचन क्षेत्रबाट लड्छन् भन्ने धेरैको चासो रहँदै आएको छ ।


ADVERTISEMENT


यसै अनुसार उनले मंगलबार काठमाडौँको राष्ट्रियसभा गृहमा आफ्नो राजनीति यात्राबारे घोषणा सभा आयोजना गरे । जहाँ उनले काठमाडौँ क्षेत्र नं. ३ बाट चुनाव लड्ने र मंगलबार त्यसकै घोषणा गर्ने धेरैको अनुमान थियो ।


ADVERTISEMENT

# # #


तर, उनले नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरे पनि लड्ने निर्वाचन क्षेत्र भने घोषणा गरेनन् । लामिछानेले जनताका प्रतिक्रिया र सुझाका आधारमा उम्मेदवारी दिने बताए । उनले भने, ‘हामी आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईंहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ जहाँ जनताले रुचाउनुहुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौँ ।’

आफू प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा, नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीको निर्वाचन क्षेत्र झापा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र चितवनबाट लड्न समेत तयार रहेको उनको भनाई छ ।

‘हुन त मलाई झापा, डडेल्धुरा, चितवनबाट चुनाव लड्न मन छ । त्यहाँ लड्न म डराएको होइन । तर, सरकारमा को छन् र तिनले कस्तो चुनाव गरेका छन्, त्यो इतिहाससँग सचेत चाहीँ छु म । त्यस अर्थमा यहाँ तपाईं हामीलाई हार्ने सुविधा छैन ।’

उनले थपे, ‘एक पटक, यसपाली, हामी त्यो मेन स्वीच अफ गर्नका लागि एउटा तारको जिम्मेवारी म लिन्छु । देशैभरिबाट एक जनालाई संसद छिर्न म रोक्छु । अर्को एक जनालाई रोक्न तपाई–तपाईं देशैभरिबाट आउनुहोला र बेथितीको यो मेन स्वीचलाई अफ गरिदिउँ सदाका लागि ।’

आफूहरु देशको स्पष्ट खाकासहित निर्वाचनमा होमिने बताउँदै उनले अब गफ गर्नेलाई नभई जान्नेलाई छान्नुपर्ने बताए । लामिछानेले भने, ‘अब जसको भिजन, उसैको सरकार, उमेर पुगेपछि त वृद्धभत्ता मात्रै पाइन्छ, सत्ता पाइन्न ।’