काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालकाे परराष्ट्र सम्बन्ध न्यायोचित राष्ट्रिय सम्बन्धका आधारमा र  न्यायोचित विदेशनीतिका आधारमा हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलवार काठमाडौंमा पूर्व राजदुतहरुको समूहले आयोजना गरेको अन्तर्कियामा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले  एकले अर्कालाई दबाउने खालको नभएर दुवै देशले आफ्नो सहअस्तित्व र सहभावका आधारमा परराष्ट्र सम्बन्ध स्थापित गर्नुपर्ने बताएका हुन्  ।


ADVERTISEMENT

# # #


उनले ठूलो राष्ट्र भयो भन्दैमा साना र अल्पविकसित राष्ट्रको गरिमामा आँच पुग्ने काम कसैले गर्दछ भने त्यसलाई न्यायोचित परराष्ट्र सम्बन्ध भन्न नसकिने समेत बताएका छन्  ।

राजनीतिक बिचार वा पार्टीगतरुपमा परराष्ट्र सम्बन्ध स्थापित गर्न नहुने भन्दै ओलीले राष्ट्रिय हितका सन्दर्भमा कुनै पनि पार्टीले कसैसँग पनि स्वार्थपूर्ण ढंगले परराष्ट्र नीतिको दुरुपयोग गर्न नहुने बताए ।

यसैगरी उनले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।  ओलीले राष्ट्रियताका बिषयमा उठेका प्रश्नमा सरकारले प्रतिपक्षसँग कुनै छलफल नगरेको बताए ।

प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका विषय लोकतन्त्रमा हुन नसक्ने उनले बताए । उनले अबको समय निषेधको नभई सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिए ।

ओलीले देशको विकास र देशले स्वीकारेको नीति अनुसार नै अन्य देशहरुसंगको सम्बन्ध अघि बढनुपर्ने र त्यसका लागि दलहरुबीच पनि एकता हुनुपर्ने बताए । ओलीले बलिया राष्ट्रसंग हुने सम्झौता एक पटक गरेपछि तोड्न कठिन हुने भन्दै बिचार गरेर सम्झौता गर्नुपर्ने बताए ।

ओलीले अन्य मुलुकसंग देखिएका समस्या समाधानका लागि पनि नेपाल अडिग भएर आफ्नो धारणा स्पष्ट राख्नुपर्ने उल्लेख गरे । साथै उनले  नेपालले अन्य देशसंगको कुटनीतिक सम्बन्धमा कार्ड खेल्न नहुने बताएका छन् ।

उनले भने,‘छिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौँ । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ ।’

यस्तै, छिमेकी देशप्रति रहेका मतभेदहरू आपसी समन्वय एवम् संवादबाट टुङग्याउनु पर्ने उनको भनाई छ । यस्तै, उनले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादसम्बन्धी समस्या समेत खुलस्त छलफलबाटै समाधान गरिनुपर्नेमा जोड दिए ।

यसैगरी नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुन नहुने बताएका छन् ।

उनले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरुले सत्तामा रहँदा आफैंले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको उनले बताए ।

नेपालले अहिले भूराजनीतिक बदलाव र त्यसका बाछिटा भोगिरहेको उल्लेख गर्दै उनले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्न सकिने प्रस्ट पारे । ‘उहाँहरुको पोलिटिकल सिस्टममा कहीँ सहमत हुन सकिँदैन तर राष्ट्रिय हितका पक्षमा धेरै कुरामा सहमत हुन र सिक्न सकिन्छ,’ उनले भने ।

नेपालको संविधानले इतिहासमा पहिलो पटक राष्ट्रिय हितको ‘डिफाइन’ गरेको भन्दै उनले परराष्ट्र नीतिबारे संवैधानिक दिशा निर्देश भएको पनि जनाए । परराष्ट्र नीतिका सम्बन्धमा घोषित नीति हुँदा हुँदै एसपीपीमा कसरी हस्ताक्षर भयो भन्नेबारे खोजीको विषय रहेको उनले बताए ।

उनले संसारका सबै मुलुकबाट सहयोग लिन चाहेको तर त्यो सहायताका शर्त हाम्रो राष्ट्रिय हित विपरीत हुनु हुँदैन भन्ने पक्षमा आफूहरु प्रस्ट रहेको बताए । तर परराष्ट्र मन्त्रालयलाई छलेर प्रधानमन्त्रीले  राष्ट्रिय हितका  विपक्षमा कुनै काम गर्न नहुने उनको भनाइ थियो ।