काठमाडौँ – नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।


ADVERTISEMENT


ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिन तर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिए । त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन् । ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो ।


ADVERTISEMENT

# # #


कतिपय ठाउँमा सुख्खा पहिरो समेत खसेर दुःख दिएको कार्की बताउँछन् । राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडक माथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुलःनिर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए।

उनले भने, “मुख्य रुपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ ।” ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो । सो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ, भने १४ निर्माणको अन्तिम चरणमा रहेको छ । एउटा निर्माण सुरु हुने प्रक्रियामा छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । जसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो ।

सो सडकमा वर्षातको समयमा पटक–पटक पहिरो खसेर दुःख दिने गरेको छ । नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्व तयारीका योजनासमेत तय गरिएको छ । पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इञ्जिनीयर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा रु १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ । हाल सो सडकमा पहिरो पन्छाउनका लागि स्काभेटर सहितको प्राविधिक टोली २४ सैं घण्टा सडकमा नै खटिएको छ । रासस