मुस्ताङ – मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभा चुनावको मतगणना मुस्ताङको सदरमुकाम जोमसोममा बिहीबार ५ बजेदेखि सुरु भएको छ । मतगणनामा दलहरुका प्रतिनिधि राखेर कर्मचारीहरु गणना कार्यमा खटिएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


गणनाको लागि मतपेटिका राखिएको स्थान र मतपेटिकाहरु रुजु गर्ने काम भइरहेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा राखिएका मतपेटिका सबै चेक चलिरहेको र चार समूह बनाएर गणना कार्य सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको दुई दुई स्थान तोकेर मतगणना चलिरहेको छ । दुबैसभाको गणना सकिएपछि समानुपातिकको गणना हुने अधिकृत त्रिपाठीले बताए । एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका ५ जना गरी ८ जना उम्मेदवार उठेका थिए ।


ADVERTISEMENT

# # #


जिल्लाभरिका ३७ वटा मतदान केन्द्रका १ सय ११ वटा मतपेटिका एकसाथ गणना चलिरहेको छ । गणना हुने अघिल्लो दिनदेखि मतदाता र कार्यकर्ताको गणनास्थलमा भीड लागेको छ । भोट गनेको थाहा पाउन उपल्लो मुस्ताङका विकट छोन्हुप, छोसेर, लोमान्थाङ, सुर्खाङ, घमी, चराङ, मुक्तिक्षेत्र र झुसाङ क्षेत्र वरपरबाट दलहरुका कार्यकर्ता सदरमुकाम जोमसोम आएका छन् ।

११ दिनसम्म मतपेटिका राखिएको स्थानमा पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेनाले पहरा दिएर बसेका थिए । चौथो घेरामा दलहरुका प्रतिनिधिहरु रातभरि चिसोमा मतपेटिका कुरेका थिए । मुस्ताङमा ९ हजार ४ सय २७ मतदातामध्ये ६ हजार ७ सय ७३ जनाले भोट दिएका थिए । यो कुल मतदाताको मतमध्ये ७१ दशमलव ८४ प्रतिशत भोट हो ।

प्रतिनिधिसभाका लागि कांग्रेसबाट रोमी गौचन थकाली, वाम घटकबाट प्रेमप्रसाद तुलाचन, प्रदेशसभाका लागि कांग्रेसका मिक्युर गुरुङ, छिरिङ दावा गुरुङ, एमालेका इन्द्रधारा विष्ट र महेन्द्र थकाली, राप्रपा (प्रजातान्त्रिक)का प्रवीण शेरचन चुनावी मैदानमा छन् । कुनै अवरोध भएन भने राति १ बजेसम्म सबै मतपरिणाम आइसक्ने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।