काठमाडौं – सरकारले बिहीबार संघीय तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठक बस्दैछ । यद्यपि बैठक बस्ने समय भने तय भइनसकेको एक मन्त्रीले जानकारी दिए ।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले संघ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर ४ गतेका लागि चुनावको मिति तय गर्न दिएको सुझाव अनुसार मिति घोषणा हुने बताइएको छ ।
बुधवारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धन दलका शीर्ष नेता सहभागी थिए ।