काठमाडौँ – पूर्वउपराष्ट्रपति परमानन्द झाको जीवनको भोगाइसमेतका विषयवस्तु समेटिएको ‘मधेसको माटो म (सप्तरीदेखि शासनसत्तासम्म)’ पुस्तक लोकार्पण गरिएको छ । उपराष्ट्रपति कार्यालय लैनचौरमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त पुस्तकको लोकार्पण गरे ।


ADVERTISEMENT


पुस्तकमा गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपतिका रूपमा रहेका झाको जीवन भोगाइ समेटिएको छ । पुस्तकमा उनको सिङ्गो जीवनको कथा उल्लेख गरिएको छ । परिवार, देश, मधेस, न्याय, उपराष्ट्रपतिलगायत विषयलाई तीन खण्डमा सङ्गृहीत गरिएको छ । पुस्तकको पहिलो खण्डमा पृष्ठभूमि र पात्रता, दोस्रो खण्डमा न्यायको पथमा र तेस्रो खण्डमा झाङ्गिएको झा परिवारसम्बन्धी भोगाइ राखिएको छ । पुस्तकमा झाको बाल्यकाल, अध्ययन, न्याय क्षेत्रमा प्रवेश, राजनीतिक जीवन, पहिचानको मुद्दा, तीतामीठा अनुभव संलग्न गरिएको छ ।


ADVERTISEMENT

# # #


पुस्तकको लोकार्पण गर्दै उपराष्ट्रपति पुनले जनताको सङ्घर्षको बलमा प्राप्त गणतन्त्रकै कारण जनताको छोराछोरी मुलुकको सर्वोच्च पदमा पुग्न सफल भएको बताए । “गणतन्त्रपछि मधेसको माटोले मुलुकको सर्वोच्च पद प्राप्त गर्यो”, उनले भने, “मुलुकको प्रथम राष्ट्रपति र उपराष्ट्रपतिमा मधेसबाटै प्रतिनिधित्व भयो, यो गणतन्त्रको उपहार हो ।”

जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिमा सबै नेपाली, भूगोल र वर्गले गर्व गर्न सक्नुपर्ने बताए । वर्ग र समाज रहेसम्म विभेदका घटना भइरहने उल्लेख गर्र्दै उहाँले विभेदको अन्त्य गर्न सिङ्गो मुलुक एक भएर लाग्नुपर्ने बताए। “मान्छे–मान्छे, जातजाति, क्षेत्र र माटो बीचको विभेद हुनुहुँदैन”, उनले भने, “विभेद अन्त्यका लागि सबै एक ठाउँमा आउनुपर्छ ।”

कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंहले पहिचानको मुद्दालाई स्थापित बनाउन पुस्तकले सहयोग गर्ने बताए। “एउटै जाति, भाषा, संस्कृतिको मानसिकताले पहिचानको मुद्दालाई ओझेलमा पारेको छ”, उनले भने ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पुस्तकले लेखकीय व्यक्तित्वको चर्चा मात्र नगरी सिङ्गो मधेसलाई ऐना जस्तै छर्लङ्ग पारेको बताए । “पुस्तकले मधेसका जनताको चित्रण गरेको छ”, उनले भेन, “मधेसका बासिन्दा पनि नेपाली हुन्, नेपाली भए पनि देशभित्रै विभेदको पीडा भोग्नु परेको यथार्थलाई पुस्तकले समेटेको छ ।”

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले मधेस आन्दोलन, समाज, संस्कृति, राजनीति र इतिहास बोकेको बताए । मधेसलाई राजनीतिक इतिहासले ठगेको उल्लेख गर्दै उनले काठमाडौँमा बसेर मधेसको भाव, भावना र मनोविज्ञानलाई बुझ्न नसकिने बताए।

समीक्षक उद्धवप्रसाद भट्टराईले पुस्तकले लेखक झाको देश र माटोप्रतिको अगाध स्नेहलाई प्रस्ट पारेको उल्लेख गर्दै पुस्तक पठनीय, मननीय र प्रेरणास्पद रहेको बताए। लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा सुरेन्द्रकुमार झाले संविधानमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई स्वीकार गरिएको भए पनि राज्यको मनोविज्ञान अझै परिवर्तन हुन नसकेको बताए ।

लेखक कुञ्जका अध्यक्ष कमल ढकालले साहित्यमा सिर्जनशीलताको खोजी गर्दै प्रत्येक नागरिकलाई सिर्जनशील बनाउन आफू लागिपरेको बताए । लेखक झाले पुस्तकमा आफूले जीवन भोगाइ, अनुभव र व्यवहार उल्लेख गरेको बताए । विसं २००२ सालमा सप्तरीको मौवाहा (हाल बलान विहुल गाउँपालिका)मा जन्मिएका झा नायब सुब्बा, कानून अधिकृत, जिल्ला न्यायाधीश, उच्च अदालतको मुख्य न्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीश हुँदै मुलुकको उपराष्ट्रपति पदमा पुगेका थिए ।