कालीकोट – कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको । आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नु परेको छ ।


ADVERTISEMENT


दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “विद्युत् सेवालाई सुचारु गर्न रुखले पुर्याएको क्षति र तारमा आएको समस्याले निकै कठिन भइरहेको छ ।”


ADVERTISEMENT

# # #


जिल्लामा गत आर्थिक वर्ष दैलेखको दुल्लु हुँदै कालीकोट विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको थियो । विद्युत् सेवा अवरोध हुँदा सबैभन्दा बढी सामुदायिक रेडियोहरु मारमा परेको छ ।

सामुदायिक रेडियोहरूले आफ्नो प्रसारण समयसमेत कटौती गर्नुपरेको रेडियो नयाँ कर्णालीका स्टेशन म्यानेजर भरतराज विष्टले बताए । “वैकल्पिकरूपमा हामीले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका थियौँ । बर्साततका कारणले घाम नलाग्ने भएकाले त्यो माध्यममा समस्या आएको छ ।” उनले भने, “विद्युत् नहुँदा दैनिक १६ घण्टा प्रसारण हुने रेडियोलाई १० घण्टामा सीमित गरेका छौँ ।”

विद्युत् सेवा अवरुद्ध हुँदा बैकिङ सेवा र सरकारी कार्यालयमा समस्या सेवा लिन आउने सेवाग्राही पनि मर्कामा परेका छन् ।