काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी कार्यालयमा बसेको बैठकको पहिलो दिन पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको तर्फबाट प्रतिवेदन पेश गरिएको हो ।
त्यस्तै बैठकमा आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि तयार गरिएको मापदण्डको प्रस्ताव पनि पेश गरिएको छ भने निर्वाचनमा भएका अन्तर्घात छानविन गर्नका लागि गठित कार्यदलले प्रतिवेदनका बारेमा जानकारी गराएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै पार्टीको तेश्रो केन्द्रीय कमिटी बैठकपछि भएका निर्णयहरुलाई पनि बैठकले अनुमोदन गरेको छ ।
बैठकले पार्टी कामलाई अघि बढाउनका लागि नियमावली बनाउन खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने केन्द्रीय सदस्यमा मनोनित भएका चार जनालाई सपथ र कार्यबिभाजन गरिएको रिजालले बताए ।
उनले सवै घेराबन्दीलाई चिर्दै एमालेलाई बहुमतमा पुराउन र निर्वाचनको रणनीतिबारे बैठकले गम्भीर रुपमा छलफल गर्ने जिकिर गरे । सबै प्रतिवेदनमाथि छलफल गरि सुझाव पेश गर्न बिभिन्न ९ वटा समिति बनाइएको रिजालले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटी शनिबार बिहान साढे १० बजे पुन बस्ने र ९ वटा समितिले आफ्नो सुझाव प्रतिवेदन पेश गर्ने एमालेले जनाएको छ ।