सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक बर्षमै देशलाई कंगाल बनाउन लागेको बताएका छन् ।
सुनसरी क्षेत्र नं ३ को दुहवीमा नेतृ भगवती चौधरीको सक्रियतामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले देशलाई निकास दिन नसक्ने बताएका हुन् ।
यसैलाई जोड दिँदै अध्यक्ष ओलीले देशलाई विकास र समृद्धितर्फ अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक रहेकोसमेत बताए । उनले मंसीर ४ पछि एमालेले बहुमतको सरकार बनाउने दावीसमेत गरेका छन् ।
एमालेको सरकार बनेपछि लिम्पियाधुरा लिपुलेक,कालापानी सहितको भूभाग फिर्ता लिने प्रक्रिया अघि बढाइने पनि उनले बता । रोकिएका विकास निर्माणका कार्यलाई सुचारु गराएर देशलाई समृद्ध बनाइने उनको भनाई छ ।
सोही कार्यक्रममा अध्यक्ष ओलीले सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीले दुई पटक जितेर पनि हार्नु परेको नमिठो अनुभव एमालेसँग रहेको गुनासो गरे । उनले नेतृ चौधरीलाई हराउन प्रहरी प्रशासन राज्यशक्तिको दुरुपयोग गरेर बाकस साटेर, धाँधली गरेर, जित्दा जित्दै पनि मतगणनामा हराएको दावी गरे ।
उनले राष्ट्रसेवक कर्मचारीलाई आगामी निर्वाचनमा निष्पक्ष हुन आग्रहसमेत गरे । अध्यक्ष ओलीले नेकपा एमालेका कार्यकर्तालाई जनताले दिएको मतको सुरक्षा गर्नसमेत निर्देशन दिएका छन् ।
उनले भने “जनताले दिएको मतको सुरक्षा गर्न एमाले कार्यकर्ता गड्यौलो जस्तो बन्ने होइन यसो छुने बित्तिकै लुसुक्क पछि सर्ने, दुईवटा दाँत भएको कहिले काँही डस्ने खालको हुनुपर्यो ।”