काठमाडौं-कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।


ADVERTISEMENT


कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशन आफूले कुरिरहेको बताए । ‘उहाँ आफै उपस्थित हुनुभयो भने हातैमा दिने, हुनु भएन भने हुलाकबाट पठाइदिने वा निर्वाचन आयोगलाई नै प्रमाणपत्र बुझाइदिने विकल्प छ,’ भुसालले भने, ‘के गर्ने भनेर निर्वाचन आयोगको निर्देशन कुरेको छु ।’


ADVERTISEMENT

# # #


निर्वाचन सम्वन्धी ऐन र निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनमा फरार उम्मेदवारलाई वारेसमार्फत् प्रमाणपत्र दिन मिल्ने कि नमिल्ने भन्ने कुरा स्पष्ट नभएकाले पनि अन्योल भएको हो । मुख्य निर्वाचन अधिकृत भुसालले स्थितिलाई सामान्यीकरण गर्नु नै बुद्धिमता हुने भएकाले उपयुक्त निर्णय लिइने बताए ।

विजय उत्सवको तयारी, सुरक्षा व्यवस्था कडा

राजपा उम्मेदवार चौधरी वाम गठबन्धनबाट एमालेकी उम्मेदवार गरिमा शाहलाई झण्डै २१ हजार मतअन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मंगलबार बिहान राजपा कार्यकर्ता र चौधरीका समर्थकहरु विजय उत्सव निकाल्ने तयारीमा छन् ।

थारू आन्दोलन उत्कर्षमा पुगेको बेला ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरी भएको सुरक्षा संयन्त्रको ठहर छ । हत्या आरोपमा धेरै जनालाई पक्रेर कारबाही प्रक्रिया अघि बढाइए पनि मुख्य आरोपी चौधरी भने फरार छन् ।