एजेन्सी – बेलायती महारानी एलिजाबेथ द्वित्तीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी उनको बिहीबार ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बालमोरल क्यास्टलमा निधन भएको हो ।


ADVERTISEMENT


उनको बिहीबार साँझ निधन भएको बकिंघम प्यालेसले पुष्टी गरेको छ । एक विज्ञप्तिमा बकिंघम प्यालेसले भनेको छ, ‘महारानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक निधन भएको छ।’ लन्डनको बकिंघम दरबारमा महारानीको अवस्थाबारे अपडेटहरू पर्खिरहेका भीडहरू उनको मृत्युको खबरमा सुनेपछि रुन थालेको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सन् १९२६ मा जन्मिएकी एलिजाबेथ द्वित्तीय सन् १९५२ मा महारानीको गद्दिमा बसेकी थिइन् । बेलायतको झण्डै एक शताब्दी लामो सामाजिक र राजनीतिक परिवर्तनको साक्षी बनेकी एलिजावेथ द्वित्तीय अब सम्झना मात्रै बनेकी हुन् ।

महारानी एलिजाबेथ द्वितीयले बेलायतको राज्य प्रमुखको रुपमा आफ्नो अवधिभर बेलायतले दोस्रो विश्वयुद्धपछि गरेको मितव्ययिता, बेलायती साम्राज्य कमनवेल्थमा बद्लिनु, शीतयुद्धको अन्त्य, युरोपेली संघमा बेलायतको प्रवेश र बहिर्गमनसम्मको उतारचढावको साक्षी बनेकी थिइन् । आफ्नो कार्यकालभर महारानीले हरेक हप्ता प्रधानमन्त्रीलाई भेट्दै आएकी थइन् ।

उनले आफ्नो ७० वर्षे शासनकालमा सन् १८७४ मा जन्मिएका विन्स्टन चर्चिल र त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेर यही हप्ता प्रधानमन्त्री बनेकी ४७ वर्षीया लिज ट्रसगरी बेलायतका १५ प्रधानमन्त्रीलाई नियुक्त गर्ने अवसर पाएकी थिइन् ।