काठमाडौँ – नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानले आफू निर्दोष रहेको बताएका छन् ।
आफूमाथि अभियोग लागेपछि पहिलो पटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका सन्दीपले आफूमाथि लागेका आरोप निराधार रहेको र त्यसको सामना गर्न तयार रहेको बताएका छन् ।
नेपालको कानुनमा आफू पूर्णरुपमा विश्वास राख्ने बताउँदै उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट प्रतियोगिता बीचमै छाडेर केही दिनभित्रै आफू नेपाल फर्किने उल्लेख गरेका छन् । साथै उनले घटनाको सत्यतथ्य छानबिन हुने, आफूलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘म निर्दोष छु र नेपालको सम्मानित कानुनमा पूर्ण विश्वास राख्छु। मैँले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु । म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। यसमा संलग्न सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा व्यवहार गर्ने आशा छ।’
उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।
जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।
जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्ने लगायतका विभिन्न अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि बिहीबार नै काठमाडौँ जिल्ला अदालतले सन्दीपमाथि पक्राउ पुर्जी समेत जारी गरेको थियो ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि बिहीबार साँझ नै नेपाल क्रिकेट संघ (क्यान)को कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीको कप्तान समेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । क्रिकेट सिरिजका लागि सन्दीप भदौ ६ गते केन्याप्रस्थान गरेका सन्दीप त्यतैबाट सीपीएल खेल्न जमाइका प्रस्थान गरेका थिए ।
सन्दीप यस सिजनमा जमाइका तल्हवासमा आवद्ध भएका थिए । हाल जमाइकामा रहेका सन्दीप आरोपको सामना गर्न केही दिनभित्रै नेपाल आउन लागेका हन्