काठमाडौँ – नेपाल काठमाडौँमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा शुक्रबार नेपालले साबिक विजेता भारतलाई १–० गोलले हराउँदै पाँचौँ पटक फाइनलको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले मध्यान्तरअघि भारतलाई १–० गोलले पछि पारेको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङले ४५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । सोही गोल नै भारतविरुद्धको जितका लागि पर्याप्त बनेको हो ।
महिला साफ च्याम्पियनसिपको १० वर्षे इतिहासमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको हो । नेपाल यसअघिका ५ मध्ये ४ संस्करणमा फाइनल पुगेको थियो । तर चारैपटक भारतसँग हारेको थियो । यसपटक भने नेपालले साबिक विजेता भारतको यात्रा सेमिफाइनलमै पूर्णविराम लगाइदिएको हो ।
आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ । अब उपाधीका लागि नेपाल र बंगलादेश सोमबार भिड्नेछन् । यसअघिका ५ वटै संस्करणमा भारतले उपाधि जितेको थियो । तर, यसपटक भारत समेमिफाइनलबाटै बाहिरिसँगै महिला साफ च्याम्पियनसिपले नयाँ विजेता पाउने भएको छ ।