गोरखा– गोरखाको कालिका मन्दिरमा रहेको दशैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा दशैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।


ADVERTISEMENT


परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए ।


ADVERTISEMENT

# # #


मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदैँ आएको छ ।

बडा दशैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ । यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जनाए ।

मनकामना मन्दिरमो मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए । परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाको भनाई छ । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो । रासस