भक्तपुर– घटस्थापनाका दिन भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।


ADVERTISEMENT


बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्परा रहेको छ ।


ADVERTISEMENT

# # #


नवरात्री मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ । नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । न

वदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।

खोलामा माटो लिनेको भिड

बडादशैंको पहिलो दिन घर घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भिड लागेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेको छ ।

जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ ।