काठमाडौं – नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज माता भगवती दुर्गाको एक रुप  चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।


ADVERTISEMENT


नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ ।


ADVERTISEMENT

# # #


नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र शुरु भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।