काठमाडौं – काठमाडौं महानगरपालिकाको शिक्षा समितिमा रही शिक्षाका क्षेत्रमा योगदान गर्दै आएका हेरम्बराज कण्डेल सम्मानित भएका छन् । महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ शिक्षा समिति बनाउनका लागि पहिलेका पदाधिकारीहरुलाई सम्मान गर्दै बिदा गरेका हुन् ।
कण्डेल विश्वनिकेतन माध्यमिक विद्यालय काठमाडौंका प्रधानाध्यापक हुन् । सम्मानित भएपछि कण्डेलले महानगरका मेयर शाहलाई धन्यवाद दिएका छन् । यसैगरी समितिमा रही काम गर्ने अवसर दिएकोमा पूर्व मेयर विद्या सुन्दर शाक्यलाई पनि धन्यवाद दिएका छन् । शिक्षा बिभाग प्रमुख राम प्रसाद सुबेदीलाई पनि उनले धन्यवाद दिए ।
साथै कण्डेलले नयाँ शिक्षा समितिमा मनोनित भएका प्रधानाध्यापकद्वय राजेन्द्र अधिकारी र रिता तिवारीलाई हार्दिक बधाईका साथ सफल कार्यकालका लागि शुभकामना दिए ।
महानगरपालिकाले शिक्षा समितिमा काठमाडौंमा रहेका विभिन्न क्षेत्रमा रही शिक्षाका विषयमा काम गरिरहेका विज्ञहरु र विद्यालयका प्रतिनिधिहरुलाई समेत मनोनित गर्ने गरेको छ ।
पूर्व मेयर विद्या सुन्दर शाक्यका पालामा मनोनित भएका शिक्षा समितिका पदाधिकारीहरुको यतिबेला कार्यकाल सकिएको छ । उनीहरुलाई बिदा गर्दै नयाँ शिक्षा समिति गठन गरिएको हो ।