राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन्।


ADVERTISEMENT


राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत भएका उनले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएको र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले पनि संघर्ष जारी राख्ने बताए।

पहाडमा समेत आम जनताको जनजीवन अभावग्रस्त रहेको बताउँदै पहाडको तुलनामा बेरोजगारी, गरिबी र अभावग्रस्त जीवन मधेशमै बढी रहेको दाबी गरे।

सिंहदरबार र नारायणहिटीमा शासन गर्नेको विभेदकारी नीति तथा भेदभावका कारण सप्तरी पनि विकासमा पछाडि परेको आरोप लगाउँदै उनले प्रदेश नं २ मा मधेश सरकार बनेपछि मात्र तराई मधेशको विकास हुने विश्वास व्यक्त गरे।

अब मधेशमा अधिकारसम्पन्न भई विकासको कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफू पनि अगाडि बढ्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे।

अध्यक्ष यादवले मधेशी जनताबाट पाएको जनमतको सम्मान गर्ने र जस्तोसुकै संघर्ष गर्न आफू पछि नहट्ने बताउँदै मधेशका जनताबाट पाएको जनमतको मूल्य चुकाउने समेत बताए।

निर्वाचन परिणामले प्रदेश नं २ मधेश सरकार बन्ने बताउँदै ‘प्रदेश नं २ को ८ जिल्ला मात्र मधेश होइन, मधेसका बाँकी २२ जिल्लाका भूभागका लागि अब हाम्रो संघर्ष अगाडि बढ्छ, उनले भने।