मोरङ्ग – मोरङ्गमा ३५० भन्दा बढी विभिन्न दलका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकी नेतृ एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले मोरंग क्षेत्र नम्बर २ अन्तर्गत डायनियामा भएको एक कार्यक्रमकाबीच ३५० भन्दा बढी विभिन्न दलका नेता कार्यकर्ताहरुलाई कांग्रेस प्रवेश गराएकी हुन् ।
लोसपाका केन्द्रीय सदस्य र लोसपा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एमालेका नेताहरु सहित गरी ३५० भन्दा बढीलाई नेतृ कोइरालाले पार्टी प्रवेश गराएकी हुन् ।
कार्यक्रममा कांग्रेसका जिल्ला स्तरका नेताहरु, कांग्रेस नेता एवम् समानुपातिक उम्मेदवार गोपाल राजभण्डारी, जिल्ला सचिव मोदराज घिमिरे, प्रदेश १ का सहमाहामन्त्री खड्ग फागो, माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरु एवम् केन्द्रीय पाेलिटव्यूराे सदस्य सावित्री कुमार काफ्ले, केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य गोपी अछामी र नेकपा समाजवादीका जिल्ला स्तरका नेताहरु, लोकतान्त्रिक समाजवादीका जिल्ला स्तरीय नेताहरु, नेकपा एमाले छाडी कांग्रेस प्रवेश गर्न चाहने दर्जनौं कार्यकर्ताहरु, जनता समाजवादी पार्टीबाट जिल्लामा चुनिएका विभिन्न दलका नेताहरु र जिल्ला बाहिरका विभिन्न दलका नेताहरुको समेत र मतदाताको बाक्लो भीड रहेको थियो । कार्यक्रममा हजारौंको संख्यामा जनताको उपस्थिति रहेको थियो ।
नेतृ कोइरालालाई पच्छ्याउँदै पार्टी प्रवेश गर्नेहरुमा लोसपाका केन्द्रीय सदस्य एवम् मोरङ्ग इन्चार्ज अमरेन्द्र कुमार सिंह , लोसपा मोरङ्ग २ का क्षेत्रीय सभापति तथा प्रतिनिधिसभा उम्मेदवार नारायण प्रसाद सिंह गनगाई, लोसपाका जिल्ल्ला सदस्यहरु मुरली प्रसाद सिंह, धर्मदास पासवान दिपक कुमार यादव, लोसपाका क्षेत्रीय सचिव जगदीश शर्मा, लोसपाका नगर सभापति श्यामकान्त शाह, लोसपाका नगर सचिव सन्तोष प्रसाद मण्डल रहेका छन् । यसैगरी एमाले नेता शम्भु प्रसाद गनगाई, तथा तुलसी सहानी लगायत लोसपा र जसपाबाट जिल्ला सदस्य नगरपदाधिकारी सहित ३५० भन्दा बढी नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभाका लागि पार्टीको आधिकारिक उम्मेदवार रहेकी नेतृ कोइरालाको क्षेत्रमा प्रदेशतर्फ माओवादीलाई प्रदेश ‘क’मा र कांग्रेसबाट प्रदेश ‘ख’मा विनोद कार्कीलाई उम्मेदवार बनाइएको छ । सो कार्यक्रममा प्रदेशका दुवैजना उम्मेदवारहरुको पनि उपस्थिति रहेको थियो ।
स्वर्गीय गिरिजा प्रसाद कोइरालाकी सुपुत्री समेत रहेकी नेतृ कोइराला हाल चुनावी अभियानको क्रमममा मोरङ्ग क्षेत्र नम्बर २ मा घरदैलो एवम् मतदाता भेटघाट, चियापान, पार्टी प्रवेश एवम् विभिन्न दलका नेता कार्यकर्ताहरुसँग भेटघाट तथा हातेमालो लगायतका कार्यक्रममा व्यस्त छिन् ।
कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई धन्यवाद दिँदै नेतृ कोइरालाले भनिन्, ‘गिरिजाबाबुले सँधै सहमति, सहकार्य र एकतालाई जोड दिनुहुन्थ्यो । आज तपाईंहरुले देखाउनुभएको सहमति र सहकार्यले गिरिजाबाबुको भनाई सार्थक हुँदै गएको छ ।’ नेतृ कोइरालाले थपिन्, ‘ लोकतन्त्रमा सहमति र सहकार्य हुनु अनिवार्य छ । सहमति र सहकार्यले नै मुलुकको हित गर्न सकिन्छ ।’
गठबन्धनको साझा उम्मेदवार समेत रहेकी नेतृ कोइरालालाई माओवादी समाजवादी लगायत दलको समर्थन रहेको छ । यसै पनि मोरङ्ग जिल्लालाई कांग्रेसको गढको रुपमा चित्रण गरिँदै आएको इतिहास छ । पितापुर्खाको थातथलो भएका कारण पनि नेतृ कोइराला चुनाव जित्नेमा ढुक्क छिन् ।
नेतृ कोइरालालाई जिल्लामा विभिन्न दलका नेताहरुले समेत उत्साहित भएर समर्थन गरिरहेको कारण पनि यसपालिको चुनावमा कोइरालाले बाजी मार्ने अनुमान मतदाताहरुले गरिरहेका छन् ।