पाल्पा– हिउँदमा धुलाम्मे वर्षायाममा हिलाम्मे रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ ।


ADVERTISEMENT


रामपुरमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्लिँदै छ । नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले अस्तव्यस्त बनेको यहाँको बसपार्क हिउँदमा धुलो उड्ने, वर्षायाममा हिलाम्मे भएर आवतजावतमा नै सास्ती खेप्नु परेको समस्या बताउँदै यस क्षेत्रलाई व्यवस्थापन गर्न सुझाव दिए । “शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा धेरै यात्रु आवतजावत गर्ने बसपार्कको अवस्था लाजमर्दो रहेको छ”, उनले भने “यसलाई स्तरोन्नति गरेर व्यवस्थापन गर्नु जरुरी छ ।”


ADVERTISEMENT

# # #


नगर बसपार्क परिसरमा नयाँ टिकट काउन्टर भवनबाट हालै काम सञ्चालन गरिएको छ । सो कार्य सुरुआतका अवसरमा सहभागी सरोकारवालाले विभिन्न ठाउँबाट यात्रु आउने क्रम बढेकाले गाडीबाट ओर्लने रामपुरको पहिलो मुख्य ठाउँ नै बसपार्क व्यवस्थित नहुँदा सकारात्मक सन्देश बाहिर नजाने बताएका छन् ।

समितिलाई बसपार्कमा आवश्यक पूर्वाधारसहितको संरचना तयार पार्न पर्याप्त बजेट अभावमा चुनौती देखिएको छ । आर्थिक अभावमा बसपार्कले गति लिन नसकेको र यसै आर्थिक वर्षमा नगरपालिकाबाट परेको बजेटले स्तरोन्नतिका कार्यहरु हुने बताउछन्, नगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ । यसभन्दा अघि नगरपालिकाबाट प्राप्त सानो रकमबाट ठूलो काम नदेखिने भए पनि यहाँ सामान्य संरचनाहरु तयार भएका छन् तर व्यवस्थित बनाउन भने नसकिरहेको अध्यक्ष श्रेष्ठ बताए।

सुन्दर सहरको परिकल्पनासहित अगाडि बढेको रामपुर नगरपालिकामा व्यवस्थित बसपार्क नहुँदा आमनागरिकको चिन्ताको विषय बनेको हुँदा जतिसक्दो स्तरोन्नतिमा सम्बन्धित निकायको ध्यान जानुपर्ने नेकपा एमाले रामपुर–५ का वडा कमिटी अध्यक्ष मीनराज रेग्मीले बताए ।

सवारी साधन बिसौनी ठाउँ राम्रो नहुँदा वर्षायाममा हिलाम्मे भएर गाडी डोजर लगाएर तान्नुपर्ने अवस्थासमेत व्यवसायीले झेलिरहेका छन् । रामपुरमा यातायातका साधन थपिँदै गएको अवस्थामा बसपार्क स्तरोन्नति नहुँदा सवारी साधन पार्किङमा समस्या देखिएको बताउछन्, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मौलिक सहरका रुपमा विकास गर्नका लागि सहरी विकास मन्त्रालयबाट रु २६ करोड ७१ लाख बजेट क्रमागत परेकोमध्ये रु चार करोड २६ लाख रकमबाट बसपार्क व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा काम हुने बताउछन् । “बसपार्कलाई विनियोजन भएको रकम यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हुँदा अब जतिसक्दो चाँडो व्यवस्थित रुपमा यहाँ आवश्यक पर्ने संरचना तयार हुनेछन्”, नगरप्रमुख थापाले भने ।