काठमाडौं – नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)बीच छात्रवृत्ति तथा भर्ना शुल्क नलिने सम्बन्धी सम्झौता भएको छ ।
आइतबार नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट अध्यक्ष कुसुम लता सिंह र प्याव्सनका तर्फबाट प्याबसनका अध्यक्ष डीके ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्ने तथा भर्ना शुल्क नलिइने भएको छ ।
कार्यक्रममा संघकी अध्यक्ष सिंहले ज्यानको प्रवाह नगरी देशको शान्ति तथा सुरक्षाका लागि प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरी प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्। साथै उनले आगामी दिनमा समेत संघ र प्यावसनबीचको सहकार्य र समन्वय भइरहने बताइन् ।
प्याबसनका अध्यक्ष डीके ढुंगानाले राम्रो काम थालनी भएको चर्चा गर्दै शान्ति सुरक्षाका लागि अनवरत खटिने प्रहरी कर्मचारीका सन्ततीहरूलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै नेपाल श्रीमती संघसँगको समन्वय र सहकार्यमा शैक्षिक गुणस्तर स्तरोन्नती गर्न यस्ता सम्झौताले थप टेवा पुग्ने विचार उनले व्यक्त गरे।
प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र एक सदस्य विद्यालयले १ जना विद्यार्थी पूर्ण दिवा छात्रवृत्ति उपलब्ध गराउने तथा छात्रवृत्तिमा समावेश नभएकाको हकमा भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौता आगामी २०८१ सालसम्म २ वर्षका लागि लागू हुनेछ । सम्झौता समारोहमा प्याबसनका पदाधिकारीहरू, श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।