बैतडी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए ।


ADVERTISEMENT


पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताए । उनले भने, “झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु । पश्चिमसेती परियोजना अघि बढेको छ । पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।”


ADVERTISEMENT

# # #


उनले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले विकासमा सन्तुलन कायम गर्न सङ्घीयता आवश्यक रहेकामा जोड दिए ।

बैतडीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।