काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को छनोट समिति र नेपाली टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले शुक्रबार रोहितलाई कप्तानको जिम्मेवारी दिएका हुन् ।


ADVERTISEMENT


नाबालिका बलात्कारको अभियोग लागेपछि क्यानले सन्दीप लामिछानेलाई गत भदौ २३ गते कप्तानबाट निलम्बित गरेको थियो । सन्दीप हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । आगामी सोमबारदेखि नेपालले युएईसँग घरेलू मैदान कीर्तिपुरमै ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ । त्यसको ३ दिनअघि मात्रै नेपाली टोलीले नयाँ कप्तान पाएको हो ।


ADVERTISEMENT

# # #


यससँगै रोहित एक दिवसीय क्रिकेटमा नेपाली टोलीका हालसम्मकै कान्छा तथा विश्वकै दोस्रो कान्छा कप्तान बनेका छन् । २० वर्ष ७० दिनका रोहितले नेपालका लागि यसअघिका कप्तान सन्दीप लामिछानेको उक्त रेकर्ड तोडेका हुन् । सन्दीप २१ वर्ष २२६ दिनमा नेपाली टोलीको कप्तान बनेका थिए । एक दिवसीयमा विश्वकै कान्छा कप्तानको पहिलो नम्बरमा अफगानिस्तानका राशिद खान रहेका छन् । उनी १९ वर्ष १६५ दिनको उमेरमै कप्तान बनेका थिए ।

अनुशासनको कारबाहीमा अघिल्लो वर्षको मंसिरमा क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाउँदै सन्दीप लामिछानेलाई कप्तान र रोहित पौडेललाई उपकप्तान बनाएको थियो ।

सन् २०१८ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेका रोहितले नेपालका लागि २५ एकदिवसीय खेल खेल्दा १ शतक र ५ अर्धशतकसहित ८०८ रन बनाएका छन् । यस्तै २१ एकदिवसीय खेलमा १ अर्धशतकसहित ३७६ रन बनाएका छन् । रोहितले यसअघि यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानी समेत गरिसकेका छन् ।

सन् २०१९ मा यएईविरुद्ध अर्धशतक प्रहार गरेपछि भारतीय महान क्रिकेटर सचिन तेन्दुल्करको रेकर्ड तोड्दै एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष १४६ दिनमा उक्त उपलब्धी हात पारेका थिए ।

यद्दपी उनको उक्त रेकर्ड पछि नेपालकै कुशल मल्लले तोडेका थिए । सन् २०२० मा १५ वर्ष ३४० दिनका कुशलले अमेरिकाविरुद्ध घरेलू मैदान कीर्तिपुरमा अर्धशतक प्रहार गरेका थिए ।