कास्की – कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।


ADVERTISEMENT


पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिए । कोरोनाका समयमा पर्यटकका लागि बन्द रहेको गाउँ गत वर्ष असोज १ गतेदेखि खुला गरिएपछि पाहुना जाने क्रम सुरु भएको उनले बताए । यो वर्ष झन् थामिनसक्नु पर्यटक घान्द्रुक पुगेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, “शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे सबै भरिभराउ भए । त्यसैले घान्द्रुक घुम्न आउँदै छन् भने पूर्वजानकारी गराएर मात्र आउनुहुन अनुरोध गर्दछु ।” शुक्रबार दुई हजार तीन सयको हाराहारीमा पर्यटक त्यहाँ पुगेको थिए । तीमध्ये दुई हजारले बास भएको उनले जानकारी दिए । बाँकी लगभग तीन सय पहुना बास नपाएर फर्कन बाध्य भएको उनले सुनाए ।

घान्द्रुकमा पाहुना राख्नका लागि ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । यसमा पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उनले बताए । सत्तरी–असी होटल होमस्टेमा एक दिनमा दुई हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।

कास्कीको अर्को पर्यटकीय गाउँ सिक्लेसमा पनि दैनिक एक हजार पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । “सिक्लेसमा ५०–६० जनासम्म राख्न सक्ने होटल १५ वटा छन्, दर्ता भएका नभएका गरी २७ होमस्टे छन्”, उनले भने, “होटल र होमस्टेमा गरेर दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म राख्न सकिन्छ । यतिबेला सबै प्याक छन् ।” सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताए ।

ग्रामीण क्षेत्रमा हाउसफुल हुँदा पोखरामा भने सोचेजस्तो पर्यटक नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । “पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । यसले व्यवसायीमा आशा त जगाएको छ”, उनले भने, “तर हामीले सोचेको जस्तो बढेको चाहिँ होइन । अब यो कतिसम्म जान्छ भन्ने हो । यो क्रम बाह्रैमास भएमा पर्यटन क्षेत्र उकासिन्छ ।” उनले पोखरा भित्रने बाटो बन्दै गरेकाले छिटो निर्माण गर्न सरकारलाई आग्रह गरे । “बाटो बन्नु भनेको हाम्रा लागि राम्रो कुरा हो तर बाटो बन्दै गर्दा वैकल्पिक बाटो पनि सरकारले बनाउनुपर्छ”, उनले भने, “यसो भयो भने पर्यटक जाममा नपर्ने गरी समय जोगिन्छ ।”


ADVERTISEMENT

#
#


होटल सङ्घ पोखरा पनि पोखरामा सोचेजस्तो पर्यटक नआएको जनाएको छ । अहिले पोखराको होटेल ‘अकुपेन्सी’ २० देखि ३० प्रतिशत हाराहारी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “पछिल्ला समय केही आशा जगाएको छ”, उनले भने, “केही होटलमा ५० प्रतिशत जति छ केहीमा १०–२० प्रतिशत, त्यो हिसाबले एभरेजमा २०–२२ प्रतिशत अकुपेन्सी छ ।” नवौँ राष्ट्रिय खेलकुद हुने समयमा ६०–७० प्रतिशत अकुपेन्सीको भए पनि पछिल्लो समय घटेको सुवेदीको भनाइ थियो । कोरोनाभन्दा अघि यही समयमा कोठा नपाएर भनसुन गर्नुपर्ने अवस्था रहेको उनले विगत सम्झिए । सङ्घसँग आवद्ध चार सय २५ होटल छन् भने उत्तिकै सङ्ख्यामा सङ्घमा आवद्ध नभएका होटल पोखरामा रहेको उनले जानकारी दिए । रासस

प्रतिकृया

प्रतिकृया