सुनसरी – नेपाल कम्युनिष्ट पार्टी एमालेकी प्रभावशाली नेतृ एवम् सुनसरी क्षेत्र नं ३ की प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीलाई समर्थन गर्दै दुहवी वडा नं ५ का दुई दर्जन कांग्रेसका समर्थक व्यक्तिहरु नेकपा (एमाले) प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको राजनीतिबाट वाक्क भएका र अन्य पार्टीमा पनि सम्भावना र विकासका अवसर नदेखिएको भन्दै दुई दर्जन व्यक्तिहरु एमाले प्रवेश गरेका हुन् ।
सोमबार एक कार्यक्रमका बीच प्रतिनिधिसभाकी उम्मेदवार नेतृ चौधरीले उनीहरुलाई पार्टीमा स्वागत गरिन् ।
सोही क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले पटकपटक सत्तामा पुगे पनि आफ्नो क्षेत्रका लागि कुनै काम नगरेको उनीहरुको गुनासो छ ।
पार्टी प्रवेश गर्नेहरुले भने, ‘सत्तामा नपुगे पनि नेतृ चौधरीले आफ्नो क्षेत्र बनाउन गरेका प्रयासहरु सराहनीय छ । हामी भगवती दिदीलाई सघाउँछौं ।’
पटकपटक धाँधलीको सिकार बनेकी नेतृ चौधरीले निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताउँदै आएकी छन् । उनी यूवा संघ, युथ फोर्स, महिला तथा किसान संघ लगायतका सबै नेता कार्यकर्ताहरु जनताले दिएको जनमत रक्षार्थ खटिनुपर्ने बताउँदै आएकी छन् ।
यसै सन्दर्भमा नेता कार्यकर्तालाई सम्झाउँदै नेतृ चौधरीले भनिन्,’ पहिलेजस्तै बाक्सा साट्ने काम हुनसक्छ, तपाईंहरु चनाखो रहनुपर्छ ।’