ललितपुर – नेपाली कांग्रेसका नेता एवं ललितपुर क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवार उदय शमशेर राणाले नेकपा  एमालेका उम्मेदवारले काम गर्नेभन्दा पनि फोटो खिचाउने काम गरिरहेकाे आरोप लगाएका छन् ।


ADVERTISEMENT


गोदावरी नगरपालिका वडा नं ५ लेलेका घरदैलो कार्यक्रममा सम्बोधनका क्रममा राणाले  एमालेका उम्मेदवार नवराज सिलवालमाथि यस्तो आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


नेकपा एमालेका उम्मेदवार सिलवालले नीति विना गालीगलौज मात्र गरिरहेको भन्ने टिप्पणी गर्दै राणाले सांसदको काम गफ गर्ने नभएर क्षेत्रको विकास गर्ने भएको तर्क गरे ।

राणाले भने, ‘लेलेका खेतमा गएर एकछिन धान काटेजस्तो गरी सामाजिक सञ्जालमा फोटो पोस्ट्याउनु सेलिब्रेटीले गर्ने जस्तो काम भएकोले त्यसरी क्षेत्रको विकास हुँदैन ।’

सांसदको कर्तव्यका बारेमा बताउँदै राणाले भने, ‘सांसदको काम बनिसकेको स्कुलमा गएर एकछिन रंग पोतेजस्तो गर्ने, खेतमा धान काटेको नाटक गर्ने, टेलिभिजनमा मनलागेको फतफताउने नभएर जनताका सुखदुख भूकम्प र कोभिड जस्ता महामारीमा मल्हम लगाउने पनि हो । यो जिम्मेवारी नवराज सिलवालले पूरा गरे त ?’

‘पाँचवर्ष अघि जनतासँग न्याय चाहियो भनेर न्याय मागेका सिलवालसँग यतिबेला जनताले न्याय मागिरहेका छन् । सिलवालले न्याय दिन सकेका छन् त ?’, राणाको प्रश्न थियो ।

राणाले आफूले संसदीय कोषबाट गोदावरी नगरपालिकामा अवस्थित लेलेको विकासका लागि बजेट पठाएको बताए ।  उनले ललेका वडाध्यक्षले गरेको काम र मतदाताको सुझबुझको प्रशंसा गर्दै भने, ‘तपाईंहरुकै माया, ममता, प्रेसर,  सद्भाव र इमानदारिता सबै मिलेर नै यहाँको वडाध्यक्षले यहाँ राम्रो काम गर्नु भएको छ ।’

फरक प्रश‌ंगमा राणाले गठबन्धनबाटै चुनाव लडेकाले सबैले वडाका चुनावमाझैं ममता देखाउनुपर्ने बताए । उनले भने, ‘दुईवटा डुंगामा खुट्टा टेक्ने हो भने डुब्ने सम्भावना पनि रहन्छ ।’

बाडेको बाटो पिच गर्नका लागि उम्मेदवारलाई हात जोडेर भन्नै नपर्ने उनको तर्क थियो । राणाले साथीहरुको एकता र इमानदारिता भएकाले हात मिलाएर नै सजिलै काम गर्ने वातावरण बनेको बताए ।  बाटोको स्तारोन्नतिका लागि मेयर उपमेयर र वडाध्यक्षहरु सबैको साथमा रहेर स्वयं सक्रिय हुने राणाले दाबी गरे ।

ससाना काम  वडाबाटै टुंगिने भएकाले ठूला काम गर्नका लागि टिम चाहिएको र त्यस्तो टिम गठबन्धनमा बनेको राणाले बताए ।
टिमवर्कले नै काम गर्न सहज हुने बताउँदै राणाले आफूलाई भोट माग्नुभन्दा पनि पहिले प्रदेश सांसदका उम्मेदवार हरि दहाललाई भोट मागिरहेको बताए ।