सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं. ३मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी उम्मेदवार भगवती चौधरीलाई जिताए मन्त्री बनाइदिने बताएका छन् ।


ADVERTISEMENT


एमाले तथा जनता समाजवादी पार्टी संयुक्त निर्वाचन परिचालन कमिटीले आज दुहवीमा गरेको बृहद् संयुक्त जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचन पछि एमालेको नेतृत्वमा सरकार बन्ने र निर्वाचनमा भगवती चौधरीलाई जिताए मन्त्री बनाइदिने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले सुनसरीको जितका लागि भगवती चौधरीको जित आवश्यक रहेको बताए । विगत ३० वर्षदेखि एउटै व्यक्ति सत्तामा पुगे पनि विकास हुन नसकेको भन्दै काँग्रेसका उम्मेदवार विजय गच्छदारतर्फ इंगित गर्दै उनले भने, ‘जनताको प्रतिनिधि भएपछि छाती खोलेर जनताको बीचमा हिँड्नु पर्ने लुकेर हिँड्नु परेको छ । गर्न नहुने काम गर्छन् मुद्दा लाग्छ भागेर हिँड्छन् । यस्तो मान्छेलाई जिताउने देशलाई कसरी बनाउनु पर्छ, जनताको गरिबी कसरी हटाउनु पर्छ भनेर लागिरहेको विकास प्रेमी, जनप्रेमी, नेतृलाई जिताउने ?’ चौधरीले सरकारमा नहुँदा पनि संस्था स्थापना गरेर काम गरेको भन्दै अत्याधिक मतले जिताएर पठाउन आग्रह गरे ।

उनले एमाले निष्पक्ष निर्वाचनको पक्षमा रहेको बताउँदै राष्ट्र सेवकहरु गठबन्धनको सेवक बन्न नहुनेपनि बताए । ‘तपाईहरु राष्ट्र सेवक हो, गठबन्धनको सेवक हैन ।’ मतपत्र र मतपेटिका सुरक्षाका सवालमा मतदान हुँदादेखि मतगणना सम्पन्न नहुँदासम्म एमालेका कार्यकर्ताहरुको आँखा झिम्किन नहुने बताए ।

विगतमा गच्छदारले धाँधली गरेर निर्वाचन जितेको चर्चागर्दै बाकस साट्ने, मतपत्र फेर्ने कुनैपनि प्रकारका गतिविधि गर्न नदिन चनाखो हुनुपर्ने बताए । ‘आँखा अगाडी बाकस हुनुपर्छ, मतदानमा मतदाताले आफ्नो मत आफैं खसाउन पाउनुपर्छ । एउटा आँखा झिमिक्क भए अर्कोले हेर्नुपर्छ । धाँधली गर्न नदिनुहोस’ ओलीले भने ।

राणा शासन, पञ्चायत शासन ढालेर आइएको बताउँदै विजय गच्छदारले बाकस साटेर निर्वाचन जित्ने दिन गइसकेको ओलीको भनाई छ । ‘राणा शासन फालेर आइयो, राजतन्त्र फालियो, विजय गच्छदारले बाकस साटेर सधैं जित्ने ? चल्छ यो ?’ ओलीले प्रतिप्रश्न गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले शिक्षा,स्वास्थ्य, सडक पूर्वाधार लगायत विकासका आधारभूत कुराबाट बञ्चित सुनसरी क्षेत्र नं. ३ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् । चौधरीले युवाको, मजदुरको, किसानको साझा एजेण्डाहरु लिएर चुनाबी मैदानमा उत्रिएको जनाउँदै जनताको माग र मुद्दामा काम गर्न आफुहरु लागि पर्ने बताइन् ।