काठमाडौँ – नेपालले युएईसँगको एकदिवसीय क्रिकेट सिरिजको उपाधी जितेको छ । नेपालले शक्रबार अन्तिम तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै ३ खेलको सिरिज २–१ ले जितेको हो ।


ADVERTISEMENT


शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो । नेपालको जितका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले शानदार ब्याटिङ गरे । दोस्रो विकेटका लागि १२२ रनको साझेदारी गर्ने क्रममा ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको इनिङ खेले ।


ADVERTISEMENT

# # #


यस्तै आशिफले नटआउट ८८ रनको इनिङ खेले । एकदिवसीय क्रिकेटमा व्यक्तिगत चौथो अर्धशतक बनाउने क्रममा उनले ११९ बलमा १२ चौका प्रहार गरे । यस्तै अर्जुन साउँदले ३३ बलमा ९ रन बनाए भने कप्तान रोहित पौडेलले १६ बलमा १ चौकासहित १० रनको योगदान दिए ।

युएईका लागि हजरत बिलाल र आयान खानले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ युएईका लागि ३१.१ ओभरमा ९३ रन बनाउँदा ९ विकेट गुमाएर नाजुक अवस्थामा पुगेको युएईका लागि आयान खान र हजरात बिलालले शानदार ब्याटिङ सम्मानजनक अवस्थामा पुर्याए ।

सोक्रममा दशौँ नम्बरमा आएका आयानले अर्धशतक प्रहार गरे । उनले ६३ बलमा ७ चौका र १ छक्कासहित नटआउट ५४ रनको योगदान दिए । अन्तिम विकेटका लागि उनले बिलालसँग नटआउट ८३ रनको साझेदारी गरे । त्यसक्रममा बिलालले ५४ बलमा १ छक्कासहित २० रन बनाए । यस्तै अलिशान सफारुले ३३ र रोहन मुस्ताफाले २४ रनको योगदान दिए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र गलशन झाले समान २–२ विकेट हात पारे । यस्तै ललित राजवंशी र सोमपाल कामीका नाममा १–१ विकेट रह्यो ।

पहिलो खेलमा युएईसँग ८३ रनले हारेको नेपालले दोस्रो खेलमा बुधबार ३ विकेटको जित निकाल्दै ३ खेलको सिरिज १–१को बराबरीको अवस्थामा ल्याएको थियो ।