काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको हो।
काठमान्डुलाई सस्तोमा समेट्न जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। राहुलले काठमान्डुका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे।
त्यस्तै, सैफ हसनले २ विकेट लिँदा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान १ विकेट लिए।
ब्याटिङतर्फ काठमान्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोडे।
काठमान्डुले सुरुदेखि नै नियमित विकेट गुमाएको थियो। ६ रन हुँदा साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रनको अवस्थामा हरिशंकर शाहको विकेट गुमायो। त्यसपछि पनि टोलीले ठूलो साझेदारी बनाउन सकेन।
काठमान्डुका कप्तान करण केसीले ८, जहानदाद खानले ५ र शाहव आलमले अविजित ४ रन बनाए। मोहम्मद आदिल आलम पहिलो बलमै आउट भए।
काठमान्डुले अनुबन्ध गरेका अस्ट्रेलियाली खेलाडी डेभिड वार्नर भने पहिलो खेलमा अनुपस्थित छन्। उनी आइतबार मात्र नेपाल आइपुग्ने जनाइएको छ।



























