काठमाडौं – ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम चरणमा पुगेका २२ महिलाले नृत्य, अभिनय र कविता वाचनलगायतका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका छन्।
सौन्दर्य प्रतियोगिता बाहिरी आकर्षणमा मात्र सीमित नभई व्यक्तित्व, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्ने मञ्चसमेत भएको सन्देश दिन ट्यालेन्ट शो आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगीहरूले आ–आफ्नो रुचि र क्षमताअनुसार प्रस्तुति दिएका थिए।
ट्यालेन्ट राउण्डबाट छनोट हुने ‘मिसेस ट्यालेन्ट’ को घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन गरिने रिवन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिएका छन्। प्रतियोगिताको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गरेका थिए।
आगामी कात्तिक १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ। गृहिणीदेखि चिकित्सक, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा आबद्ध २२ महिलाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा विजेता बन्ने मिसेस नेपाल वर्ल्डले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। यस्तै, मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत छनोट गरिने आयोजकले जनाएको छ। ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा आयोजना हुने प्रतियोगिता गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न हुनेछ।






























