नुवाकोट – नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी भएका छन् । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।


ADVERTISEMENT


उाका अनुसार ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डेले ११ हजार छ सय ६२ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर चार सय ४८ रहेको छ ।


ADVERTISEMENT

# # #


उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका नेपाली कांग्रेसका उम्मेदवार गीता अमात्यलाई चार हजार ६२ मत र नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रकाश लोहनीलाई दुई सय ८५ मत प्राप्त भएको छ ।

चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपेश लामाको दुई हजार आठ सय ८४ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्र न्यौपानेको पाँच सय १७ र शम्भुप्रसाद पनेरुको एक सय १२ मत आएको छ ।

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १३ उम्मेदवार प्रतिस्पर्धामा भए पनि बाँकी उम्मेदवारले प्राप्त गरेको मत एक सयभन्दा कम छ । यस निर्वाचन क्षेत्रमा बेलकोटगढी नगरपालिकासहित विदुरको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ पर्दछन् । यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा ३३ हजार सात सय ७५ मत खसेको थियो ।