काठमाडौं -नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ।
सभापति थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै पार्टी सञ्चालनको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। सभापति थापाले भने यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रमलाई विगतभन्दा फरक ढाँचामा सञ्चालन गरिएको हो। नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहाली गराउने व्यवस्था गरिएको उनले जानकारी दिए।
असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। उक्त निर्वाचनमा गगन थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए।
महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार सात हजार ३९२ मतदाताको मतगणना एक सातामा सम्पन्न गरिएको थियो। कुल २२९ पदका लागि भएको निर्वाचनमा झण्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।



























