काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौंले वादी नेपाल सरकार प्रतिवादी इनाम सापकोटासमेत रहेको मुद्दाका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिमा अनुसन्धान अधिकारीलाई सूचनाको स्रोत सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक गरिएकोप्रति आपत्ति प्रकट गरिएको छ ।
प्रचलित कानुन, विधि र प्रक्रिया बमोजिम उक्त मुद्दाको अनुसन्धानका विषयवस्तुहरू गोप्य रूपमा भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण वा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको प्रहरीले स्पष्ट पारेको छ ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई पालना नगरेको खण्डमा कानुन बमोजिम हुने हुँदा मुद्दासाँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकोले आधिकारिकता पुष्टि गर्न समेत अनुरोध गरिएको छ ।




























