काठमाडौँ– भारतले नेपालीसँग रहेको भारु पाँच सय र हजार दरका नोट प्रतिव्यक्ति चार हजार पाँच सयसम्म सटही गर्ने भएको छ ।


ADVERTISEMENT


भारु सटहीबारे टुङ्गो लगाउन शनिबार नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति साढे चार हजारसम्म सटही गर्न सक्ने बताएको हो । आइतबार बिहान राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा बसेको बैठकमा भारतीय टोलीले आफ्नो निर्णय सुनाउँदै यस्तो बताएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म भारु सटही सुविधा माग गरिरहेको समयमा भारतले चार हजार पाँच सयसम्मको मात्र सटही गर्न सकिने बताएको छ । तर, भारतीय निर्णयप्रति राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ । यसकारण सोमबार पुनस् बैठक बस्ने सहमति भएको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुङ्गानाले बताए । ‘भारतले प्रतिव्यक्ति भारु चार हजार पाँच सयसम्म साट्न सकिने बताएको छ,’ उनले भने, ‘त्यसमा हाम्रो सहमति छैन ।’

भारत सरकारले नोभेम्बर ९, २०१६ (कात्तिक २४ गते) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसबेलादेखि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् ।

बैंक तथा वित्तीय संस्था र मनी चेन्जर कम्पनीहरुमा करिब ३ करोड ३६ लाख रुपैयाँ भारु पाँच सय र हजार दरका नोट रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणसँग रहेको नोटको विवरण भने छैन ।