काठमाडौं – नेपालीका प्रमुख चाडपर्व दशैं, तिहार तथा छठको अवसर पारेर काठमाडौंस्थित भारतीय दूतावासले आज आफ्नो परिसरमा विशेष सांगीतिक साँझ आयोजना गरेको छ।
नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध, आपसी सद्भाव र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा नेपाली तथा भारतीय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा चर्चित नेपाली सांगीतिक समूह त्रिकाल तान्त्रिक्स (Trikaal Tantriks) ले लोक, फ्युजन तथा समकालीन संगीतका विविध धुन प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।
त्यसैगरी, भारतबाट आएकी विजय भारती र उनको समूहले जीवन्त तथा रंगीन भारतीय लोकसंगीतको प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले भारतीय लोकसंस्कृति र सांगीतिक विविधतालाई उजागर गरेको थियो।
सांगीतिक कार्यक्रममा नेपालका कला, संस्कृति, कूटनीति तथा पत्रकारितालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
संगीत र संस्कृतिमार्फत नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, सांस्कृतिक निकटता र जनस्तरको आत्मीयतालाई थप सुदृढ बनाउने सन्देश कार्यक्रमले दिएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको उक्त सांगीतिक साँझमा नेपाली तथा भारतीय सांस्कृतिक प्रस्तुतिले उत्सवमय वातावरण सिर्जना गरेको थियो।



























