काठमाडौं–नेपाल प्रहरीले चुनावका बेला खटाइएका म्यादी प्रहरीलाई तोकिएको सबै सेवा सुविधा दिएर विदाई गरेको दाबी गरेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले चुनाव सकिएपछि सम्मानका साथ प्रमाणपत्र समेत दिएर म्यादी प्रहरीलाई विदाई गरिएको बताए ।


ADVERTISEMENT


आइतबार काठमाडौमा भएको साक्षात्कारमा न्यौपानेले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । सेवा सुविधा नपाएकै कारणले म्यादी प्रहरीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको उनको दाबी छ ।


ADVERTISEMENT

# # #


कालिकोटमा खटाइएका म्यादी प्रहरीलाई धन्यवाद सहित प्रमाणपत्र वितरण गरेर विदाई गरिएको न्यौपानेले बताए । विदाई कार्यक्रम सकिएपछि ढुङ्गामुढा सुरु भएको बताउँदै न्यौपानेले त्यसपछिको घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धानकालागि समिति बनाएको जानकारी पनि दिए ।

म्यादी प्रहरीलाई बैँक खाता खोल्न लगाएर सबै सेवा सुविधाको रकम बैँकमार्फत दिइएको बताउँदै न्यौपानेले अहिलेसम्म सबै म्यादी प्रहरीको बैँक खातामा रकम गइसकेको बताए । प्रहरीले म्यादीलाई पैसा दिएन वा थोरै पैसा दियो भन्ने सुनिए पनि ति सबै झुटो भएको उनको दाबी छ ।