काठमाडौँ – विश्वसनीय र निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै आइरहेको हिमालय पोष्ट डटकम सातौँ वर्षमा प्रवेश गरेको छ । २०७३ माघ १ गते देखि अनलाईन समाचार पत्रिकाका रूपमा सुरू हिमालय पोष्टले आज ६ वर्ष पूरा गरेको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गर्दै लजिक मिडिया प्रा.लि.द्वारा सञ्चालित हिमालय पोष्टले छैटौँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हिमालय पोष्ठ डटकमका प्रधान सम्पादक लोमस चापागाईंले समस्त पाठक, विज्ञापनदाता, सहकर्मी, सल्लाहकार, शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
उनले पाठक, स्रोता र दर्शकको रुचि अनुसारका ताजा, विश्वसनीय र निष्पक्ष समाचार साम्रगी प्रस्तुत गर्दै वस्तुनिष्ठ पत्रकारिताको अभ्यासलाई हिमालय पोष्टले आगामी दिनमा अझ सशक्त रुपमा अघि बढाउने बताए ।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता नैनसिंह महरले हिमालय पोष्टले आफ्नो ६ वर्षको यात्रामा समाजमा रुपान्तरणका लागि आफ्नो व्यवसायिक पत्रकारिताको शिर उँचो राख्न गरेको कार्य प्रसंशनीय रहेको बताए । उनले हिमालय पोष्ट समाजप्रति उत्तरदायी प्रेस बन्न सकोस् भन्ने शुभकामना दिए ।
यस्तै नेकपा एमालेका युवा नेता रमेश पौडेलले हिमालय पोष्टले विश्वसनीय समाचार प्रस्तुत गर्दै आएको बताउँदै आवाजविहीनहरुको आवाज बन्ने यात्रामा आफ्नो कलम खरो रुपमा चाल्ने अपेक्षा गरे । साथै उनले देशलाई सुशासन र समृद्धिको यात्रामा आफ्ना समाचार सामग्रीको माध्यमबाट हिमालय पोष्टले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।
यस्तै चलचित्र निर्देशक यादव कुमार भट्टराईले हिमालय पोष्टले आफ्ना समाचारमा नेपाली कला क्षेत्रलाई सँधै प्रमुख स्थान दिँदै आएको बताउँदै आगामी दिनमा अझै राम्रो गर्न सुझाए ।भट्टराईले अहिले नेपाली राजनीति प्रतिपक्षविहीन बन्दै आएकाबेला शिमालयपोष्टले सत्तालाई सँधै प्रश्न गर्ने शैलीलाई जारी राख्नुपर्ने उल्लेख गरे ।
यस्तै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनका अध्यक्ष सीताराम ढकालले हिमालय पोष्टले निष्पक्ष रुपमा समाचार सामग्री प्रस्तुत गर्दै आएको बताउँदै भविष्यमा पाठकको रुचि अनुसारका सामग्री पढ्न पाइने अपेक्षा गरे ।
बेष्ट फाइनान्स कम्पनी लि. द्वारा प्रायोजित सो कार्यक्रममा हिमालय पोष्टकर्मी , राजनीतिज्ञ तथा कला क्षेत्रका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।