काठमाडौं – मिसेस वर्ल्ड २०२५ की विजेता चानिता ‘स्यामी’ सिडाकेट क्रेथोर्न नेपाल आइपुगेकी छन्। मिसेस नेपाल वर्ल्ड २०२६ को फिनालेमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आएकी हुन्।
आगामी कार्तिक १४ गते आयोजना हुने प्रतियोगिताको फिनालेमा सहभागी हुन नेपाल आएकी स्यामीले यहाँका पर्यटकीय स्थल घुम्ने इच्छा व्यक्त गरेकी छन्। विशेषगरी नेपालको प्राकृतिक सौन्दर्य र हिमालप्रति आकर्षित रहेको बताउँदै उनले नेपाली हिमालको भ्रमण गर्ने चाहना राखेकी छन्।
थाई–ब्रिटिस पृष्ठभूमिकी स्यामीले सन् २०२६ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजित मिसेस वर्ल्ड २०२५ को उपाधि जितेकी थिइन्। विश्वका विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि आफ्नो नाममा पारेकी हुन्।
मानवीय सेवा, सञ्चार तथा महिला सशक्तीकरणका क्षेत्रमा समेत सक्रिय स्यामीलाई मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले नेपाल निमन्त्रणा गरेको हो।
उनको सहभागिताले मिसेस नेपाल वर्ल्ड २०२६ लाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउने अपेक्षा आयोजकले गरेको छ।




























